राजधानी छिर्ने मुख्य नाका २० दिन बन्द
त्रिभुवन राजपथ हुँदै काठमाडौं छिर्ने मुख्य नाका थानकोटको नागढुंगा–नौबिसे सडक खण्ड थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले भोलिदेखि शुक्रबारसम्म बन्द गर्न लागिएको छ । नागढुंगा–नौबिसे सडक योजनाका अनुसार भोलिदेखि जेठ ३० गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुनेछ ।
यसअघि जेठ १० देखि आजसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्दको सूचना जारी गरिएको थियो । तर, मर्मत जारी रहेकाले पाँच दिन थप्नु परेको बताइन्छ ।
तोकिएको समयमा साना तथा मझौला सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाइएको छ । सीतापाइला–रामकोट–धार्के सडक र सामाखुशी–टोखा–छहरे–त्रिशुली (विदुर)–गल्छी सडक प्रयोग गर्न सकिने भन्दै वैकल्पिक मार्गको जानकारी दिइएको छ । सडक बन्दको समयमा दमकल, एम्बुलेन्स र सुरक्षा निकायजस्ता अत्यावश्यक सवारी साधनको आवतजावत भने यथावत रहने छ ।
टिप्पणीहरू