अदालतमा सुरक्षा तैनाथी बढाइयो, न्यायाधीशको पिएसओ हेरफेर
उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीशहरुको पिएसओ (अंगरक्षक) हेरफेर भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले आज बिहानैदेखि लागू हुनेगरी सबै न्यायाधीशको पिएसओ परिवर्तन गरेको हो । रौतहट नरसंहारका अभियुक्त नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताव आलमलाई सफाइ दिएको भन्दै न्यायाधीश खुशीप्रसाद थारुमाथि हिजो इजलासमै दुर्व्यवहार भएको थियो ।
नेकपा बहुमतका कार्यकर्ताले उनीमाथि कालोमोसो छ्यापेका थिए । यो घटनापछि प्रहरीले न्यायाधीशका अंगरक्षक फेरबदल गरेको हो । अदालत परिसरमा पनि सुरक्षा तैनाथी बढाईएको छ ।
‘अहिले यहाँ १४ जना श्रीमानहरु हुनुहुन्छ, उहाँहरुको लागि खटिदै आएका सुरक्षाकर्मीलाई जिल्लामा बोलाएर नयाँ पठाएका छौँ’, पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले जनआस्थासँग भने, ‘पिएसओ फेरबदल हुने समय पनि भएको थियो, हिजोको घटनापछि संयोग मात्र देखिएको हो ।’
उनका अनुसार यसअघि १४ जना प्रहरीले अदालत परिसरको सुरक्षा दिँदै आएकोमा अहिले २४ जना खटाइएको छ । ‘खासमा यो पुरानो मिल कारखाना हो, अस्थायी इजलास त्यही पुरानो भवनमा आएर बसेको छ, क्षेत्र पनि ठूलो भएकाले अलि धेरै संख्यामा खटाउनुपर्यो’, उनले थपे ।
त्यस्तै, अदालत परिसरमा सुरक्षा कन्ट्रोल रुम पनि निर्माण गर्न लागिएको बुझिएको छ ।
टिप्पणीहरू