भिजिट भिसामा उपाध्यक्ष साटेको आरोपपछि प्रचण्ड- ‘त्यो वाहियात हो’
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको योजनालाई ‘काउण्टर’ दिन भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति गर्नुपरेको बताउनुभएको छ ।
सहमतिबमोजिम सरकारले एक महिनाभित्र अध्ययन र छानविनको काम सुरु नगरेमा माओवादी पुनः प्रतिरोधमा उत्रिने उहाँको चेतावनी छ ।
हिजो गृह जिल्ला चितवन पुग्नुभएका प्रचण्डले आज नीजि निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले संसदलाई अपमान गरिरहेको आरोप समेत लगाउनुभयो । ‘उहाँ (ओली)लाई त संसद चले पनि के, नचले पनि के, केही वास्तै छैन, उहाँको चाहना नै संसद अवरुद्ध भइरहोस् भन्ने हो नि’, उहाँले भन्नुभयो, ‘एक ढंगबाट हामीले हाम्रो माग राखेर हाउस अवरुद्ध गरेका थियौँ, अर्को ढंगबाट चाहिँ सरकारलाई आनान्द भइरहेको थियो, त्यसैले हामीले सदन खोलेर खबरदारी जारी राख्ने निर्णय गरेका हौँ ।’
पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले संसदीय अभ्यासमा प्रतिपक्षीले धेरै विवेक पुर्याउनुपर्ने पनि बताउनुभयो । ‘दुई बुँदे सहमति गरेर संसद खोल्नु हामी जिम्मेवार ढंगले प्रस्तुत हुनु पनि हो, यदि तपाईंहरुले यो कुरालाई गहिरो गरी विचार गर्नुभयो भने माओवादी कति गम्भिर र जिम्मेवार ढंगले चलेको रहेछ भनेर बुझ्न सजिलो हुन्छ’, उहाँले थप्नुभयो ।
परम्परागत विचार भएका कतिपय विरोधीले भिजिट भिसा प्रकरणमा पूर्व सभामुखसमेत रहेका पार्टी उपाध्यक्ष अग्नि सापकोटालाई साटफेर गरेको भन्दै भ्रामक समाचार फैलाएकोमा पनि प्रचण्डले आपत्ती जनाउनुभएकाे छ । अघि भन्नुभयो, ‘त्यो सबै वाहियात हो, त्यस्तो भ्रामक कुरा फैलाउनेलाई तपाईहरुले पनि चिनिरिहनुभएकै छ ।’
टिप्पणीहरू