श्रीमान-श्रीमतीको झगडा: कोही सँगसंगै भीरबाट हामफाल्ने, कतै खुकुरीले छप्काउने

श्रीमान-श्रीमतीको झगडा: कोही सँगसंगै भीरबाट हामफाल्ने, कतै खुकुरीले छप्काउने धारिलो हतियार प्रहारबाट घाइते भएकी राधिका कोइराला

चितवनको राप्ती नगरपालिका–४ चौकीडाँडामा श्रीमान-श्रीमती झगडा गरी सँगै भीरबाट हामफाल्दा एक जनाको ज्यान गएको खबर छ ।

खहरे खोलाको भीरबाट एकैसाथ फालहालेका श्रीमती ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको र श्रीमान् ४७ वर्षको लीलाबहादुर प्रजा घाइते भएको प्रहरीले बताएको छ । बायाँ कानबाट रगत बगेको र कुममा चोट लागी गम्भीर घाइते अवस्थामा श्रीमान् प्रजालाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको त्यहाँ खटिएका प्रहरी कर्मचारीले जानकारी दिएका छन् ।

चितवनमा हिजै राति साढे आठ बजेतिर भरतपुर–११ नौरंगीमा श्रीमानले श्रीमतीलाई कुटपिट गरी धारिलो हतियार प्रहार गरेको जानकारीमा आएको छ । २५ वर्षीया राधिका कोइरालालाई श्रीमान् राजु भण्डारीले कुटपिट गरी खुकुरी हान्दा शरीरको विभिन्न भागमा चोट लागेको बुझिन्छ । मध्यम अवस्थामा राधिकाको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ । कुटपिट गर्ने निज राजुलाई राति नै नियन्त्रणमा लिइसकेको पनि प्रहरीले जानकारी गराएको छ ।

भरतपुर–५ कैलाशनगरमा पनि हिजो राति श्रीमानले श्रीमतीलाई कुट्दा श्रीमती घाइते भएकी छन् ।३१ वर्षकी गंगा परियारलाई श्रीमान राजकुमार परियारले कुटपिट गर्दा टाउकोमा चोट लागी मध्यम हालतमा उपचारको लागि भरतपुर अस्पताल लगिएको थियो ।

श्रीमती भकुर्ने राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जानकारी दिएको छ ।

टिप्पणीहरू