मधेशी नेताहरु नारायणहिटी पछाडि जुटे

मधेशी नेताहरु नारायणहिटी पछाडि जुटे

मधेशकेन्द्रित ७ पार्टीको ‘संघीय लोकतान्त्रिक मोर्चा’ को बैठक बसेको छ । नारायणहिटी दरबारको उत्तर ढोका नजिक बाबा होटलमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा आज दिउँसो बैठक बसेको हो । 

बैठकमा समसामयिक राजनीति, मोर्चाको कार्यविधिलाई पूर्णता दिने, बन्दी रिहाई लगायतका विषयमा छलफल भएको जनाइएको छ । त्यस्तै, मिति घोषणा नहुँदै रुपन्देही-३ को उपचुनावबारे पनि चर्चा भएको बताइएको छ । 

बैठकमा सिके राउतबाहेक सबै पार्टीका अध्यक्ष सहभागी छन् । जसपा नेपालको तर्फबाट अध्यक्ष उपेन्द्र यादव, नेता राजकिशोर यादव, मनिष सुमन र रामकुमार शर्मा उपस्थित रहे । 

त्यस्तै, नागरिक उन्मुक्तिबाट रेशमसँगै लालवीर चौधरी र अरुण चौधरी तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, केशव झा र सिएन थारु सामेल भए । लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेता सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र ज्ञानेन्द्र झा बैठकमा रहँदा जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान उपस्थित छन् । 

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन तथा तमलोपाबाट वृषेशचन्द्र लाल र ब्रज किशोर सिंहले बैठकमा सहभागिता जनाएका छन् ।
 

टिप्पणीहरू