मेयरका समर्थकले लगाएको ताल्चा वडाध्यक्षले खोले

मेयरका समर्थकले लगाएको ताल्चा वडाध्यक्षले खोले

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ्गका समर्थकले निर्माणाधीन प्रहरी चौकीमा लगाएको ताला खोलिएको छ ।

वडा नम्बर-१६, नौंलो बस्तीमा निर्माणधीन प्रहरी चौकीको कम्पाउण्डमा लगाइएको ताला वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले खोलेका हुन् ।

बहुभाषिक पाठशालाको कम्पाउण्डभित्र निर्माण भइरहेको प्रहरी चौकीमा गएराति तालाबन्दी गरिएको थियो । आफूले केही बेरअघि ताला खोलेको वडाध्यक्ष भट्टराईले बताए । ‘रातको मौका छोपेर त्यहाँ तालाबन्दी गरिएछ । त्यसपछि मैले अघि गएर खोले’,उनले भने । प्रहरी चौकीको विषयमा हाल उपमहानगरमा लफडा भइरहेको छ ।

मेयर साम्पाङ्गले त्यहाँ कुनैपनि हालतमा प्रहरी चौकी बनाउन नदिने बताउँदै आएका छन् । जबकि, मेयरकै अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले प्रहरी चौकी बनाउने निर्णय गरेको हो । हाल त्यहाँ कोटेशनमा काम भइरहेको छ । 

वडाध्यक्ष भट्टराई काम नरोकिने बताउँछन् । भन्छन्,‘लाखौं रुपैयाँ खर्च गरेर काम शुरु भइसक्यो । अहिले पिल्लर ठड्याउने काम चलिरहेको छ । स्थानीयको चाहना त्यहाँ प्रहरी चौकी बन्नुपर्छ भन्ने छ । पहिले आफैंले निर्णय गरेर अहिले उहाँले यत्तिकै विवाद निकालिरहनुभएको छ । उहाँले जे गरेपनि काम रोकिँदैन ।’

टिप्पणीहरू