छ सय वर्ष पुरानो दरबार खरानी

छ सय वर्ष पुरानो दरबार खरानी

करिब ६ सय वर्ष पुरानो ऐतिहासिक ज्यामरुङ दरबार भग्नावशेषमा परिणत भएको छ । विभिन्न कालखण्डमा कहिले जलेर त जलाइएर,भत्किएर बाँकी बसेको घोडा बाँध्ने तबेला पनि आज आइतबार बिहान आगलागीले नष्ट भएपछि दरबारको संरचना भग्नावशेषमा फेरिएको हो । 

धादिङको नीलकण्ठ नगरपालिका–११ स्थित ज्यामरुङ दरबारमा संरचनाको नाममा पर्खाल मात्रै बाँकी छ । विद्युत सर्ट भई लागेको आगोले दरबारको बाँकी रहेको घोडा बाँध्ने तबेला जलेर नष्ट भएको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिए । 

ऐतिहासिक महत्व बोकेको ज्यामरूङ दरवार २०५९ साल असोजमा जनयुद्धका क्रममा माओवादीले आगो लगाएको थियो । आगजनीमा दरबारभित्र रहेका गरगहना,ऐतिहासिक हातहतियार,पुराना मुद्रा,पूजाका सामाग्री लगायतका सामानहरु सबै जलेर नष्ट भएका थिए । 

‘दरबारको भौतिक संरचनाको नाममा तबेला मात्र बाँकी थियो । तर त्यो पनि विद्युत सर्ट भई लागेको आगोले नष्ट हुन पुग्यो’, वडा अध्यक्ष श्रेष्ठले भने–‘करिव ६ सय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको ज्यामरुङ दरबार अहिले भग्नाशेषमा मात्रै सिमित बनेको छ ।’ 

शाहवंशीय राजाहरूका पूजापाठ र सैन्य तालिम गर्ने केन्द्रबिन्दुको रूपमा परिचित थियो ।  ज्यामरुङ दरबार झन्डै छ सय वर्ष पुरानो रहेको स्थानीयको दावी छ । यो दरबार विक्रम सम्वत १५०० तिर निर्माण गरिएको अनुमान छ । 

त्यसबेला यो क्षेत्र चौबिसे राज्यहरूमध्ये ज्यामरुङ राज्यअन्तर्गत पर्थ्यो । यो दरबार राजा कान्तिपुरले स्थापना गरेको राज्यको केन्द्र थियो भन्ने किंवदन्ती पाइन्छ । पछि राजा द्रव्य शाहले गोरखा राज्य स्थापना गर्नुअघि यही ज्यामरुङमा केही समय बिताएका थिए । त्यसैले, यो दरबार गोरखाको ऐतिहासिक उत्पत्तिसँग समेत सम्बन्धित रहेको बताइँदै आएको छ । 

ऐतिहासिक महत्व बोकेको ज्यामरुङ दरबार पुनर्निर्माणमा कसैले चासो दिएको छैन । जलेर खरानी बनेको दरबार पुरानै बनोट र संरचनामा निर्माण गरिनु पर्ने स्थानीयहरुको माग छ ।

टिप्पणीहरू