विद्यासँग नारायणकाजीको भेट र एकताबारे माओवादीको खण्डन

विद्यासँग नारायणकाजीको भेट र एकताबारे माओवादीको खण्डन

नेकपा माओवादी केन्द्रले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वाम एकताको प्रस्ताव राखेको विषय पार्टीको जानकारीमा नरहेको प्रष्ट्याएको छ । 

केही सञ्चार माध्यममा प्रकाशित 'वाम एकताका लागि एमाले समक्ष माओवादी प्रस्ताव” शीर्षकको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्तिमार्फत त्यस्तो प्रतिक्रिया दिएका हुन् । उक्त समाचारलाई तथ्यहीन र आधारहीन भन्दै विज्ञप्तिमा खण्डन गरिएको छ।

‘समाचारमा उल्लेख गरिएअनुसार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी एमालेसँगको वाम एकताको प्रस्ताव राखेको भनिएको छ, जुन पूर्ण रूपमा निराधार हो । हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौ’, विज्ञप्तिमा भनिएको छ ।  

एमालेबाहेक अन्य कम्युनिष्ट दल र समाजवादी मोर्चाका घटकहरूसँग एकताको विषयमा छलफल भएपनि एमालेसँग कुनै चर्चासमेत नभएको माओवादीको प्रष्टीकरण छ । उसले यस्ता भ्रामक प्रचारबाट भ्रममा नपर्न पार्टीपंक्ति र सर्वसाधारणलाई आग्रह गरेको छ ।

टिप्पणीहरू