भोटेकोशीमा भीषण बाढी,उध्दार जारी

भोटेकोशीमा भीषण बाढी,उध्दार जारी

भोटेकोशी र स्थानीय ल्हेन्दे खोलामा आएको भिषण बाढीले रसुवागढी, टिमुरेस्थित भन्सार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । रातिदेखि आएको बाढीले चीन जोड्ने मितेरी पुल बगाएको छ भने भन्सार क्षेत्रमा राखिएका सयौं विद्युतीय गाडी फसेका छन्। 

त्यसैगरी भन्सार क्लियरेन्सका लागि राखिएका कन्टेनर केही बगेका छन् भने केही डुबानमा परेका छन् । बाढीले स्थानीय रसुवागढी जलविद्युत परियोजनाका कर्मचारी र भन्सार क्षेत्रमा रहेका मानिस बगाएको तर तिनको उध्दार गरिएको बताइएको छ । 

बिहान ५ बजेदेखि नं.२० गुल्म रसुवाबाट सशस्त्र प्रहरी निरीक्षक रविन्द्र दाहालको कमाण्डमा २१ जना खटिएका छन् । तर विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र जवान र उद्धार सामाग्रीहरुसहित खटिएको टोली स्याफ्रुबेसीदेखि अगाडिको सडक चर्केकाले जान नसक्ने अवस्था छ । त्यहाँबाट पैदल गएको टोली भन्सार क्षेत्र पुगेको अनुमान गरिएको छ । बिओपी टिमुरे रसुवाबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमाण्डमा १३ जनाको अर्को टोली खटिएको छ । 

भर्खरै प्राप्त समाचारमा रसुवागढीमा बाढीमा फसेका सबैको सुरक्षित स्थानमा उद्धार गरिएको बताइएको छ । तर,पूर्ण विवरण प्राप्त भइसकेको छैन । बाढीले ठूलो क्षति पुर्याएको देखिन्छ । सेनाको हेलिकप्टर पनि उध्दारका लागि त्यतै खटेको देखिन्छ ।

तल्लो तटीय क्षेत्रमा रहेका रसुवा, नुवाकोट र धादिंगका त्रिशुली नदी किनारका बस्तीमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

टिप्पणीहरू