त्रिशुली नदीमा २ वटा शव फेला
त्रिशुली नदीले बगाउँदै ल्याएको दुई वटा शव धादिङमा फेला परेको छ । त्रिशुली खोलाको उपल्लो भूभाग नुवाकोटतर्फबाट बाढीमा शव बग्दै आएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
गजुरी गाउँपालिका–६ बेल्खु र गल्छी गाउँपालिका–२ केउरेनीमा शव भेटिएका हुन् । दुवै शव पुरुषको रहेको प्रहरीले जनाएको छ ।
चीनको तिब्बतमा परेको अविरल वर्षपछि भोटेकोशी खोलामा आएको बाढीसँगै आज बिहानैदेखि त्रिशूली नदीमा पानीको बहाव अत्यधिक छ । जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा जारी गरेको सूचनामा असार २३ गते राति भारी वर्षासँगै त्रिशूली नदीको शिर क्षेत्रमा पानीको बहाव उच्च हुँदै गएकाले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का घटनाबारे नजिकैको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन सूचित गरिएको छ ।
टिप्पणीहरू