सीमानाबाट बाढीमा गाडीसहित चालक बेपत्ता
छिमेकी चीनको सीमानास्थित रसुवागढीमा मंगलबार बिहानीपख आएको बाढीले गर्दा जनधनको ठूलो क्षति भएको छ । भोटेकोशीमा अप्रत्यासित राती आएको बाढीले भन्सार कार्यालय,भन्सार यार्ड,सुख्खा बन्दरगाह,जलविद्युत परियोजना र पावर हाउससहित सडकमा धेरै क्षति पुगेको छ । बेपत्तामध्ये एक दर्जनको शव फेला परेको छ भने झण्डै दुई दर्जनको खोजी कार्य जारी छ ।
मृतक र हराउनेमा अधिकांश सुरक्षाकर्मी,कामदार र चिनियाँ नागरिक छन् । दुई दर्जन बढी मालवाहक ठूला सवारी साधन र त्यसमा रहेका सामान पनि बाढीले बगाएको छ । भन्सार क्षेत्रमा रोकिएका दर्जनौं विद्युतीय सवारी साधनको अवशेष फेला परेको छैन । तीसँगै अन्य केही अन्य सवारी साधन पनि बाढीमा परेको अवस्था छ ।
त्यस्तैमध्येका एक सवारी साधन मालिक अहिले पीडामा छन् भने उनका चालकको परिवार ठूलो शोकमा छ । दोलखाको शैलुङ गाउँपालिका २ का चालक जोगमान तामाङ र टोयोटा हाइलक्स गाडी भेटिएका छैनन् । सवारी साधान नम्बर बिएडी १३४७ का मालिक नुवाकोटको बेलकोटगढी ४, नुवाकोटका कृष्णबहादुर चालिसे हुन् ।
उक्त गाडी रसुवागढीको सीमा क्षेत्रमा निर्माणाधीन सुख्खा बन्दरगाहका चिनियाँ ठेकेदारले प्रयोग गर्दै आएका थिए । एकातिर गाडीको नामोनिशान छैन भने अर्कोतर्फ चालकसमेत बेपत्ता भएकाले चिनियाँ ठेकेदारले क्षतिपूर्ति दिए पीडित परिवारलाई राहत हुने अवस्था छ ।
टिप्पणीहरू