घुसकाण्डले संसदमा ‘घमासान’

घुसकाण्डले संसदमा ‘घमासान’

सामान्य प्रशासनमन्त्रीबाट आज राजीनामा दिएका एमाले नेता राजकुमार गुप्ताको घुस ‘डिल’ प्रकरणमा जोडिएका अरू मन्त्रीहरुले पनि राजीनामा दिनुपर्ने माग संसदमा उठेको छ । 

गुप्ताले राजीनामा दिएसँगै यो प्रकरण सामसुम हुनसक्ने खतरा औँल्याउँदै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित विपक्षी दलका सांसदहरुले नाम पोलिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद राजन दाहालले पोलिएका अरू मन्त्रीहरुले के गर्ने हो ? भनी प्रश्न गरे ।

यो प्रकरणको निष्पक्ष छानविन गर्न माग गर्दै उनले भने, ‘आरोपित मन्त्रीज्यूले राजीनामा दिनुभयो, त्यो ठिकै छ, तर उहाँले पोलेका अन्य मन्त्रीहरुले के गर्ने हो ? अडियोमा एमालेकै अर्का मन्त्रीको नाममा आएको छ ? उहाँले पनि नैतिकताको आधारामा राजीनामा दिनुपर्छ ।’

त्यस्तै, एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले पनि यत्रो घटना बाहिर आउँदासमेत प्रधानमन्त्रीको मौनता देखेर आश्चार्य लागेको बताए । उनले पनि यसमा नाम जोडिएका अर्का मन्त्रीलाई बर्खास्त गर्ने आँट प्रधानमन्त्रीले गर्नुपर्नेमा जोड दिए । 

‘मन्त्रीको अडियो सार्वजनिक भएपछि उहाँले राजीनामा दिनुभयो, तर त्यसमा प्रधानमन्त्रीज्यूले अहिलेसम्म एक शब्द आधिकारिक धारणा राख्नुभएको छैन’, चौधरीले भने, ‘मानौ प्रधानमन्त्री यतिबेला लामो मौनव्रतमा हुनुहुन्छ ! कमसेकम उहाँले अरु मन्त्रीहरुलाई पनि बर्खास्त गर्ने आँट गर्नुपर्छ ।’

यता, पूर्वपञ्चहरूको पार्टी राप्रपाका सांसद ज्ञानबहादुर शाहीले गुप्तालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन् । राजीनामा दिएर छुट पाउन नहुने भन्दै उनले छानविन र कारवाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए । 

‘मन्त्रीले राजीनामा दिनेबित्तिकै समस्या समाधान हुन्छ ? मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानविन गरियोस् । त्यति मात्र होइन अन्य मन्त्रीमाथि पनि छानविन गरियोस्’ , शाहीले सभामुखको ध्यानाकर्षण गराउँदै भने । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयका निकायहरू समेत भ्रष्टाचारजस्तो गम्भीर विषयमा मौन रहेको भन्दै उनले आपत्तिसमेत जनाएका छन् । वर्तमान सरकारले भ्रष्टाचारमा विश्व किर्तिमान राखेको शाहीको व्यंगात्मक टिप्पणी छ ।

‘पहिले पहिले एउटा चलन थियो, अहिले पनि छ । ज्ञान नपाए काँसी जानू, न्याय नपाए गोरखा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा आउनू !’, कटाक्ष गर्दै भने, ‘मन्त्रीको अडियो टेप आएको छ, पैसा बुझाएको छ, मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छ ? हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाएका छौं यो देशमा । आयोगले के गरेर बसेको छ सम्माननीय सभामखु महोदय ? गृह मन्त्रालयगतका युनिटहरुले के हेरेर बसेका छन् ?’ 

यसै सन्दर्भमा नेकपा एसका अर्का सांसद प्रकाश ज्वालाले सरकारको एक वर्षे कार्यकालमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामबाहेक केही नभएको दाबी गरेका छन् । भ्रष्टाचारको डिग्री दिनहुँ उकालो लागिरहेको भन्दै उनले भिजिट भिसामार्फत हुने तस्करीले नेपालाई दुनियाँसामु बद्नाम गराएको बताए ।

प्रधानमन्त्री र मन्त्रीहरूले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक नगरेकोमा ज्वालाको आपत्ति छ । ‘मन्त्रीहरु भ्रष्टाचार, घुसखोरी र विवादमा मुछिएको विश्व रेकर्ड, भिजिट भिसामार्फत मानव तस्करीमा नेपाल दुनियामा बदनाम, भ्रष्टाचारको डिग्री उकालो, घुसखोरी व्याप्त, सम्पत्ति शुद्धीकरणमा ग्रे लिष्टबाट ब्ल्याक लिस्टतर्फ यात्रा, मल अभावमा किसान समस्यामा, उखु किसानको अनुदान कटौति, दैनिक उपभोग्य सामानमा मूल्यवृद्धि, बजेटमा एकलौटी र व्रम्हलुट, सेटिङमा योजना किनबेच, जनविरोधी अध्यादेशबाट साशन, शिक्षा विधेयक समितिमा वन्धक, कुलिङ परियडमा चलखेल, सहकारी र मीटरब्याज पीडित अन्यायमा’, चर्को आक्रोश पोख्दै उनले सरकाको एक वर्षे कार्यकालको उल्टो उपलब्धि यसरी सुनाए । 

भिजिट भिसा प्रकरण र स्पेन काण्डको छानविन गर्न माग गर्दै सदन अवरुद्ध पार्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजकुमार गुप्ताले राजीनामा दिएर मात्र नपुग्ने स्पष्ट पारेको छ । सो पार्टीका सांसद शिव नेपालीले घट्नाको निष्पक्ष छानविन गरी दोषीउपर कारबाही गर्न सरकारसँग माग गरे । 

अध्यागमन विभागमार्फत भइरहेको मानव तस्करीको प्रत्यक्ष संरक्षण र अप्रत्यक्ष संलग्नता भएका गृहमन्त्रीको नैतिकता कहिले जाग्ने हो ? उनको प्रश्न छ ।

टिप्पणीहरू