स्वास्थ्य चौकीको फ्रिज खरिदारको मासु पसलमा

स्वास्थ्य चौकीको फ्रिज खरिदारको मासु पसलमा

काठमाडौं महानगरपालिकाले स्वास्थ्य चौकीलाई उपलब्ध गराएको फ्रिज एक कर्मचारीले आफ्नो मासु पसलमा लगेको खुलेको छ । स्वास्थ्य चौकी नपुर्याइ चौकीका कर्मचारीले सो फ्रिज आफ्नो मासु पसलमा प्रयोग गरेका हुन् । 

काठमाडौंको फोहोरमैलाले अति प्रभावित नुवाकोटको ककनी गाउँपालिका–३, सिसडोलमा रहेको स्वास्थ्य चौकीलाई महानगरको वातावरण विभागले आर्थिक वर्ष २०७९–८० मा १९० लिटरको फ्रिज उपलब्ध गराएको थियो । 

भ्याक्सिन राख्न आवश्यक परेको भन्दै माग गरेपछि महानगरले मागफाराम भराएर फ्रिज दिएकोमा स्वास्थ्य चौकीका खरिदार श्यामलाल बलामीले तारकेश्वर नगरपालिकामा रहेको मासु पसलमा लगेर राखेका हुन् । 

सो फ्रिज पूरै रगत लत्पतिएको अवस्थामा भेटिएको महानगरका एक कर्मचारीले बताए । ‘फ्रिज मासु पसलमा लगेको जानकारी पाएपछि महानगरले जफतको प्रयास गरेको थियो । तर, फ्रिज पूरै रगत लत्पतिएको अवस्थामा भेटिएपछि छोडिदियौं’,उनले भने । 

महानगरले बलामीबाट नयाँ फ्रिज लिएर गुपचुप रुपमा घटना मिलाउने कोशिस गरेको छ । सो फ्रिज हाल वातावरण विभागमा छ । त्यस बेलाको मागफाराम र खरिद बिलअनुसार अहिलेको फ्रिज नमिलेपछि सिसडोल नपठाइएको ती कर्मचारीको जिकिर छ । 

भन्छन्,‘पूरानो फ्रिजको साटो नयाँ ल्याएपनि मागफाराम र खरिद बिलअनुसार अहिलेको फ्रिज मिल्दैन । त्यसैले सिसडोल नपठाइकन टेकूमा राखिएको छ ।’ विभागको प्रमुख सरिता राईले फ्रिज बलामीले आफ्नो मासु पसलमा लगेको पुष्टि गरिन् । 

त्यसको साटो उनले नयाँ फ्रिज दिएको उनले बताइन् । जनआस्थासँग उनले भनिन्,‘यहाँबाट फ्रिज दिएको उहाँले चौकीमा नलगी मासु पसल पुर्याउनुभएछ । त्यो फ्रिज प्रयोग गर्न मिल्ने खालको थिएन । उहाँले नयाँ ह्याण्डओभर गर्नुभएको छ ।’

ककनी–१ का बलामी नेकपा एमालेनिकट हुन् । एमाले जिल्ला अध्यक्षमा जीतबहादुर बलामीसँग पराजित उनले गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा दाबी गरेका थिए । एमाले कार्यकर्ता भएकै कारण घटनालाई गुपचुप मिलाइएको आरोप छ ।

टिप्पणीहरू