प्रधानमन्त्रीको उमेर सुनेपछि भीम रावल झसङ्ग
नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै उहाँको उमेरबारे अध्ययन गर्न नयाँ कार्यदल गठनको सुझाव दिएका छन् । शनिबारको पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले ७० वर्षे उमेर हदको प्रावधान नहटाउने हो भने आफू जेल बसेको १४ वर्ष घटाउनुपर्ने प्रस्ताव राखेपछि उक्त भनाईप्रति कटाक्ष शुरु भएको छ ।
अध्यक्ष ओलीले त्यसो हुँदा राजनीतिक दृष्टिकोणबाट हाल आफ्नो उमेर ७३ वर्षको सट्टा ५९ वर्ष मान्नुपर्ने धारणा राख्नुभएको बताइन्छ । सोही सन्दर्भमा रावलले राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको, बिरामी भई काम नगरेको समयावधि पनि घटाउन सुझाव दिएका हुन् ।
मातृभूमि जागरण अभियानमा सक्रिय उनले ट्वीटर (एक्स)मा लेखेका छन्, ‘एमालेमा ७० वर्षे प्रावधान नहटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ, केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि ?’
उमेर हद र दुई वर्षे कार्यकालको प्रावधानबारे पछिल्लो समय पार्टीमा चर्को बहस भएको छ । केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकले विधान संशोधनको प्रस्ताव अनुमोदन गरे पनि केन्द्रीय कमिटीमा भने छलफल हुन बाँकी छ । आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा नेताहरुले विधान संशोधनको औचित्यमाथि आफ्नो धारणा राख्दैछन् ।
टिप्पणीहरू