काठमाडौं गोर्खाजको नाम र लोगो परिवर्तन

काठमाडौं गोर्खाजको नाम र लोगो परिवर्तन

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि फ्रेन्चाइज टीम काठमाडौं गोर्खाजले नाम र लोगो फेरेको छ । 

गत वर्ष ‘काठमान्डु गुर्खाज’ नाम रोजेका टिम मालिकले यस पटक त्यसलाई परिवर्तन गरि ‘काठमान्डु गोर्खाज’ राख्न लागेका हुन् । काठमाडौं उपत्यकाको संस्कृति र सम्पदालाई प्रतिनिधित्व गर्नेगरी नयाँ लोगो बनाइएको छ, जसमा खुकुरी, उपत्यकाका मठमन्दिर, मूर्तिको डिजाइन राखिएको छ । 

‘खुकुरीले हाम्रो विजयको बाटो कोर्छ । हाम्रो विरासतको रक्षा गर्ने संरक्षकहरु र मन्दिरले हाम्रो एकतालाई प्रतिध्वनित गर्छ । हामी काठमान्डु गोर्खाज हौं र यो हाम्रो नयाँ लोगो हो,’ उसले भनेको छ । 

गत सिजन पाँचौं स्थानमा रहेर प्लेअफ खेल्नबाट वञ्चित भएको काठमाडौं गोर्खाज यसपटक भने नयाँ रुप र रणनीतिसहित प्रस्तुत भएको हो । केही दिनअघि मात्र टोलीले मोन्टी देखाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उनी राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक हुन् । 

मोन्टीलाई साथ दिन प्रशिक्षकमा वसन्त शाही, टेक्निकल एनालिस्टमा सुरज शाक्य र फिजियोमा पुरन तिरुवालाई निरन्तरता दिइएको छ । पहिलो सिजन मार्की रहेका करण केसीसहित भीम सार्की, शाहब आलम, रशिद खान, दिपेश कँडेल र प्रतिक श्रेष्ठलाई गोर्खाजले रिटेन गरेको छ ।

टिप्पणीहरू