भिजिट भिसा प्रकरणले संसदमा आज पनि भनाभन
नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरण छानविनको माग गर्दै सदन चर्काइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मुखभरीको जवाफ दिएका छन् । सरकारले टालटुले समिति गठन गरेर यो प्रकरण सामसुम पार्न खोजेको रास्वपाको आरोपको खण्डन गर्दै उनले जवाफ फर्काएका हुन् ।
भिजिट भिसामा विदेश गएर त्यहीँको नागरिकता लिई लामो समय बसेर नेपाल फर्किएका रवि लामिछाने उपप्रधानमन्त्रीसम्म बनेको स्मरण गराउँदै उनले यो प्रकरणमा अरुलाई प्रश्न उठाउने नैतिक बल रास्वपासँग नभएको बताए । त्यसकारण भिजिट भिसा काण्डप्रति धेरै चिन्तित नहुन भन्दै घिमिरेले कटाक्ष गरे ।
‘संसदमा झन्डै दुई महिनादेखि केही साथीहरुले धेरै चिन्ता व्यक्त गरिरहनुभएको छ । धेरै चिन्ता गर्न आवश्यक छैन । हामीले एउटा अभ्यास गरिसकेका छौँ’, आजको प्रतिनिधिसभा बैठकमा उनले भने, ‘भिजिट भिसामा यहाँबाट बाहिर जाने, त्यहीँको नागरिकता लिने, त्यहीँ घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने, दुई चार वटा अरु काण्ड पनि मच्चाउने, पार्टी खोल्ने त्यसपछि गृहमन्त्री, अन्य विभिन्न मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म हुने अभ्यास हामीले गरिसकेका छौँ । किन चिन्ता गर्नुहुन्छ ।’
त्यसअघि रास्वपा सांसद विनिता कठायतले भिजिट भिसाको नाममा भइरहेको संगठित भ्रष्टाचार र मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाएकी थिइन् । सरकार र राज्यसंयन्त्रले नागरिकप्रति जवाफदेही हुने संवेदनशीलता नै गुमाएको उनको टिप्पणी छ ।
जवाफमा घिमिरेले रास्वपामा धेरै नेता र सांसदहरु भिजिट भिसाबाटै अहिलेको स्थितिमा आएको दाबी गरे । रवि लामिछानेको नाम नलिई उनले भने, ‘मलाई आश्चर्य लागेको छ, जुन पार्टीको धेरै सांसद, धेरै नेताहरु यही भिजिट भिसाबाट आज यो ठाउँसम्म आइपुग्नुभएको छ । यो सफलताको श्रेणी उक्लिनुभएको छ । त्यही साथीहरु भिजिट भिसाको बारेमा सबैभन्दा बढी चिन्तित भएको पाएको छु ।’
गृहमन्त्री रमेश लेखकको सचिवालयसमेत मुछिएको भिजिट भिसा काण्ड करिब साढे दुइ महिनादेखि चर्चा र बहसमा छ । यसको सत्यतथ्य छानविनको माग गर्दै प्रमुख प्रतिपक्ष माओवादी केन्द्रसहितका विपक्षीले लगातार सदन अवरुद्ध पारेपछि सरकारले सहसचिव नेतृत्वको समिति गठन गरेको छ । समिति गठनसँगै माओवादीसहित अन्य विपक्षीले सदनको अवरोध अन्त्य गरे पनि रास्वपा भने आन्दोलनमै छ ।
सभामुखले पेलेर संसद चलाएपछि त्यसयता लगातार आफ्ना कुरा राखेर संसद बहिष्कार गर्दै आएको रास्वपा यो प्रकरण छानविन गर्न शक्तिशाली आयोग वा समिति गठन गर्नुपर्ने अडानमा छ । आज सांसद कठायतले पनि सोही माग दोहोर्याइन् ।
टिप्पणीहरू