विद्या भण्डारीको पत्रकार सम्मेलन : ब्यानरमा मदन, वक्तव्यमा पूर्व उपाध्यक्ष

विद्या भण्डारीको पत्रकार सम्मेलन : ब्यानरमा मदन, वक्तव्यमा पूर्व उपाध्यक्ष

नेकपा एमालेले पार्टीमा प्रतिबन्ध लगाएको प्रति पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।  

गत मंगलबार मध्यराति सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता खारेज गर्दै राजनीतिक यात्रामा काँडेबार लगाउने निर्णय गरेको थियो । उहाँलाई पूर्वराष्ट्राध्यक्षको रुपमा सम्मानित भएर रहन आग्रह पनि गरेको थियो । 

तर, एमालेमा फर्किने सार्वजनिक घोषणा गरिसकेको अवस्थामा पार्टीले गरेको यो निर्णयप्रति भण्डारीले आज औपचारिकरूपमा असन्तुष्टि जनाउनुभएको हो । ४५ वर्षअघि मदन भण्डारीबाट पार्टी सदस्यता लिएकाले कसैले चाहँदैमा हटाउने नसक्ने उहाँले आज पत्रकार सम्मेलनमार्फत बताउनुभयो । 

भण्डारीले एमाले केन्द्रीय कमिटीको निर्णयलाई ‘हुलहुज्ज र उत्तेजना’मा गरिएको निर्णयसमेत भन्नुभएको छ । पत्रकार सम्मेलनमा उहाँले आफूलाई एमालेको पूर्व उपाध्यक्षको हैसियतमा प्रस्तुत गर्नुभयो । उहाँले सार्वजनिक गरेको वक्तव्यको अन्तिममा नाममुनी ‘पूर्वउपाध्यक्ष’ लेखिएको छ ।

मंचमा पनि जननेता मदन भण्डारीको ठूलो फोटो र सूर्य चिन्हअंकित झण्डासहितको ब्यानर टांगिएको थियो । ब्यानरको शीर्ष भागमा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद्, नेकपा (एमाले) जिन्दावाद’ लेखिएको थियो । 

पार्टीले सदस्यबाट बन्चित गरे पनि पत्रकार सम्मेलनमा भण्डारी एमालेकै नेताको रुपमा प्रस्तुत हुनुभयो ।
 

टिप्पणीहरू