पूर्वराजाका प्रियहरु चुनचुनके सखाप

पूर्वराजाका प्रियहरु चुनचुनके सखाप

राजा फर्काउन हौसिएर सडकमा ओर्लिएका तर निर्णायक भनिएको आन्दोलन चार दिन पनि नटिकेपछि तितरबितर भएका राजावादीहरू एकअर्कालाई सिध्याउने खेलको अर्को श्रृंखला शुरु भएको छ । राजसंस्था र हिन्दुराष्ट्रको वकालत गर्ने सबैभन्दा ठूलो र वैधानिक शक्ति राप्रपामा निर्मल निवास निकटहरूलाई छानीछानी कारवाहीको कोर्रा बर्साइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय प्रमोट गरेका नवराज सुवेदीदेखि मुकुन्दश्याम गिरीसम्म प्रहारको निशानामा परेका छन् । 

कमल थापालाई विस्थापित गरेर लिङ्देन नेतृत्वमा आएदेखि नै राप्रपामा कट्टर राजावादी र नरम राजावादीका रूपमा दुई धार प्रष्ट देखिँदै आएको छ । महामन्त्री धवल समशेरले नेतृत्व गरिरहेको कट्टर समूहमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्ददेखि डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे हुँदै नवराज सुवेदीजस्ता पुराना नेता छन् । लिङदेनसहित रवीन्द्र मिश्र, ज्ञानबहादुर शाही, खुश्बु ओलीलगायत पछिल्लो समय पार्टीमा जोडिएकाहरूको अर्को खेमा छ, जसले राजसंस्था पुनःस्थापनाको मुद्दा जनमतबाटै स्थापित गर्नुपर्ने नरम नीतिलाई प्राथमिकतामा राखेको देखिन्छ । 

ज्ञानबहादुर र रवीन्द्रहरूजस्ता आधारविहीन पात्रलाई बोकेर लामो योगदान गरेका पुराना नेतालाई बाइपास गरेको आरोप लिङ्देनमाथि लाग्दै आएको छ । पार्टीको जिम्मेवारी वितरणमा पनि त्यसैगरी पन्पक्ष गरेको गुनासो व्याप्त भैरहँदा यसपटक पनि उनले दरबारद्वारा पत्याइएकाहरूको जिम्मेवारी खोसिदिएका छन् । शुरुमा ज्ञानेन्द्रको चाहनामा ‘राजसंस्था पुनस्र्थापनाका लागि जनआन्दोलन समिति’का संयोजक सुवेदीलाई अनुशासन आयोगको अध्यक्ष र सगुनसुन्दर लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका थिए । त्यसविरुद्ध बोलेवापत उपाध्यक्ष मुकुन्दश्याम गिरी पनि निशानामा परे । आफैँले उपाध्यक्ष मनोनित गरेका उनलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै लिङ्देनले पदमुक्त गरेका हुन् । कारवाहीको तरबार उज्याइएका तीनै भाइले पद थमौतीको माग गर्दै निर्वाचन आयोग गुहारेपछि राजावादीहरूको आन्तरिक कलह सडकमा पोखिएको छ । 

नवराज सुवेदीजस्तै मुकुन्दश्याम निर्मल निवासका अत्यन्तै विश्वासपात्र मानिन्छन् । सुर्खेत स्थायी ठेगाना भएका यिनी राम्रो गीत गाउने गायक पनि हुन् । विगतमा राजाहरू सुर्खेत भ्रमणमा जाँदा चलाइने ‘सवारी शिविर’मा स्वरसम्राट नारायणगोपाल, लोकगायक कुमार बस्नेतसँगै गिरीलाई पनि लगिन्थ्यो । ०४३ सालमै वीरेन्द्रनगर नगरपालिकाको प्रधानपञ्च भएका उनी स्थानीयस्तरमा लोकप्रिय नै मानिन्छन् । गणतन्त्रपछि राष्ट्रियस्तरमा खासै चर्चामा नरहेका यिनी विवादमा परेको पनि सुनिएको छैन । तर, यिनैलाई किन पार्टीबाट निकालेका होलान् ? समाचार स्रोतका अनुसार धवल समशेर र बिक्रम पाण्डेलाई तह लगाउन लिङदेनले ‘छोरी कुटेर बुहारी तर्साउने’ रणनीति अपनाएका हुन् । 

जो पूर्वराजा ज्ञानेन्द्रको नजिक छन् उनीहरूलाई चुनचुनके ‘बदला’ लिनुको कारण चाहिं के होला ? लोकेन्द्रबहादुरको पालामा मन्त्री भएका एक जना कार्यसम्पादन समिति सदस्यका अनुसार लिङ्देन खतरनाक खेलमा छन् र कारवाहीको श्रृंखला अझै बढ्दै छ । राप्रपामा विकसित पछिल्ला घटनाक्रमलाई ‘लिङ्देन प्रवृत्ति’ को उपज ठान्ने उनले केही अनौठा खुलासासमेत गरेका छन् । ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो’ भन्ने अध्यक्षको मुकुण्डो उतार्दै उनले बेलिबिस्तार लगाए– जुन महिलालाई बहिनी बनाएर दुई वर्ष भाइटीका लगायो, तेस्रो वर्ष उनैसित बिबाह गर्ने मान्छे हो लिङ्देन । अहिलेकी श्रीमती सीता थापासँग दुई वर्ष लगातार भाइटिका लगाएका थिए उनले । 

बताइएअनुसार ‘हाहाहुहु’ टोलीलाई अघि लगाएर पुराना राजावादीलाई माइनस गर्न थालेपछि लिङ्देन निर्मल निवासको प्राथमिकतामा पर्न छोडेका हुन् । नवराज सुवेदी प्रकरणसम्म आइपुग्दा दूरी घटेको छैन, झन् बढिरहेको छ । यसै सन्दर्भमा उनै पूर्वमन्त्रीले लिङ्देनलाई बैगुनीको संज्ञा दिँदै एउटा पुरानो घटना स्मरण गरे–०४६ सालको आन्दोलनताका झापाको मेची क्याम्पसमा अनेरास्ववियुका नेता राम थापाको हत्या भएको थियो । त्यसबेला मण्डले विद्यार्थी नेता लिङ्देनसहित हाल दमक नगरका मेयर राम थापामाथि उक्त घटनामा संलग्न रहेको आरोप लाग्यो । र, दुवैजना जेल गए । यता, आन्दोलनको बलमा पञ्चायत ढलेर बहुदल आयो । कांग्रेस र कम्युनिष्टहरू राजनीतिको मूल धारमा देखिए । त्यसपछि लोकेन्द्रबहादुर चन्दले लिङ्देन र थापालाई जेलबाट निकाल्न राजबन्दी साँटासाट गर्ने प्रस्ताव राखे । नारायणमान बिजुक्छे रोहितलगायतसँग साँटेर लिङ्देन बाहिर निस्किएका हुन् । 

यसरी राजनीति अघि बढाएका लिङ्देन ०७० सम्म राष्ट्रिय राजनीतिको चर्चामा थिएनन् । कमल थापालाई हराएर एकाएक नेतृत्वमा आउँदा उनलाई निर्मल निवासको समर्थन प्राप्त भयो । तर, पार्टी सत्तामा पुगेपछि शक्तिको उन्मादमा दरबारलाई समेत बेवास्ता गरेर एक्लै हिँडेको गुनासो सुनिन्छ । निकटहरूसँग उनले ‘दरबारलाई क्वाँक्वाँ रुने बनाउँछु’ भन्ने गरेको पूर्व राजा ज्ञानेन्द्रको कानमासमेत परिसकेको दावी समाचार स्रोतको छ । ‘केन्द्रीय सदस्य युवराज पोखरेलको अनामनगरस्थित सम्पर्क कार्यालयमा उनले दरबारनिकट महामन्त्री राजेन्द्र गुरुङको उछित्तो काढेका रहेछन् । त्यसबारे पछि घरमै गएर कुरा गर्दा ‘बुद्धिमान र ध्रुवबहादुर प्रधानले पशुपतिलाई उचालेर मेरो खेदो खनिरहेका छन्’ भनी उल्टै अरूलाई दोष दिने काम गरे’, भित्री कुरा खुलाउँदै समाचार स्रोत भन्छ, ‘यसैलाई हो हामीले लिङ्देन प्रवृत्ति भनेको ।’ 

भित्रभित्र दरबार निकटहरूलाई सिध्याउने प्रपञ्च रचेको आरोप लागेका लिङ्देन बाहिर भने पूर्व राजासँग सम्बन्ध सुधारको प्रयासमा रहेको देखिन्छ । हत्तपत्त फूल चढाउन नजाने उनी यसपटक ज्ञानेन्द्रको जन्मदिनमा बुके लिएर निर्मल निवास पुगेका थिए । त्यसअघि कार्य सम्पादन समितिको बैठक नै बोलाएर झाँक्रीसहित बाजागाजा र झाँकीमा निर्मल निवास जान र पूर्वराजाको जन्मोत्सव भव्य बनाउन निर्देशन नै जारी गरेका थिए । 

अर्को रमाइलोचाहिँ राप्रपाको विधानमा १९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । तर, युवालाई पार्टीमा ल्याउने भन्दै लिङदेनले विज्ञापन नै खुलाएर सदस्य थप्दै जाँदा केन्द्रीय सदस्यको संख्या हजार हाराहारीमा पुगिसकेको छ । स्वयं वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र उनीसहित एकतामा आएकाहरू विधानतः केन्द्रीय समितिमा छैनन् । मिश्र, उद्धव पौडेल, चन्द्रबहादुर गुरुङ, शरदराज पाठकहरूलाई निर्वाचन आयोगले चिन्दैन । लिङ्देनले केन्द्रीय सदस्य बनाएका अमेरिकी नागरिक प्रेमकुमार श्रेष्ठको नाम पनि निर्वाचन आयोगको सूचीमा छैन ।
 

टिप्पणीहरू