ओली अझै किन आशंकित ?
एमालेमा क्रियाशील हुञ्जेल आफ्नै गुटमा निरन्तर सक्रिय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति अध्यक्ष केपी शर्मा निर्मम रुपमा प्रस्तुत भएका छन् । पार्टीमा आफूविरुद्ध दुई लाइन संघर्ष गर्ने एकपछि अर्को नेतालाई सडकमा पुर्याएका ओलीले संकटमा पनि आफूलाई साथ दिएकी भण्डारीप्रति यति कठोर बन्ने कमैले सोचेका थिए । कुनै बेला ओली आफैं पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्काउन तयार रहेको बताउँथे । तर आफूलाई चुनौती दिने एकपछि अर्को नेतालाई पाखा लगाएका ओलीलाई यतिबेला एमालेमा चुनौती दिने कोही छैनन् ।
चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा अध्यक्ष पदका लागि आफूलाई चुनौती दिएका तत्कालीन उपाध्यक्ष डा. भीम रावललाई समेत २०८१ पुस १० गतेको सचिवालय बैठकबाट संगठित सदस्यतासमेत खोसेर अपमानपूर्वक पाखा लगाइसकेका छन् । आफूलाई चुनौती दिने एकजना रावललाई पाखा लगाइसकेको अवस्थामा अब ओलीका लागि एमालेमा ‘भुराभुरी र केटाकेटी’ मात्रै बाँकी रहे ।
अरू नेता ‘भुराभुरी र केटाकेटी’ लाग्ने गरेको प्रसंग अरू कसैले झिकेको होइन । आफ्नो संगठित सदस्यता खारेज गरिदिने संकेत पाएकी पूर्वराष्ट्रपति भण्डारीले गत साउन ६ गते मंगलबार भंगालमा यस्तो बताएकी थिइन् । उनले यसो भनेको ८ घण्टापछि मध्यरात एमालेले उनको सदस्यता खाइदियो भने च्यासलको दैलो थुनिदियो । साउन ६ गते रातिको निर्णयअघि निवासमै पत्रकारसँग कुरा गर्दै उनले भनेकी थिइन्,, ‘उहाँ (केपी ओली) त टावर पर्सनालिटी हो नि ! आफ्नो विकल्प कोही छैन । मबाहेक सबै भुराभुरी, केही जान्दैनन् जस्तो गर्नुहुन्छ ।’
उनले त्यसबेला जिल्ला र प्रदेशदेखि नै ग्रुपिज्म गरेर कार्यकर्तालाई आतंकित पार्दै बोल्न नदिने प्रयास भएको पनि खुलाइन् । भण्डारीले एमालेमा पूरै आतंक फैलाएर नेतृत्वबारे बोल्न नदिने परिपाटी बसाइएको बताइन् । उनले यसो भनिरहँदा एमाले बैठकमा रोचक रोचक घटनाक्रम भइरहेका थिए । कतिसम्म भने ओलीको सचिवालय र उनीनिकट नेताहरूले आफ्नो पक्षमा बोल्न नेताहरूलाई अनेक आश्वासन बाँडिरहेका थिए । एकजना केन्द्रीय सदस्यले सुनाएको रोचक किस्साअनुसार ओलीको पक्षमा बोल्नका लागि अनौठो प्रस्ताव गरिएको थियो । बैठकमा आएका कयौँ नेताले एक पटक पनि ओलीसँग भेट्न पाएका थिएनन् ।
त्यसरी भेट्न नपाउनेलाई ओलीसँग भेट गराइदिने आश्वासनसमेत दिइएको थियो । केन्द्रीय कमिटी बैठकमा प्रदेशबाट सबैभन्दा पहिले बोल्नेलाई पहिले नै लिखित मन्तव्य दिएर ओलीको पक्षमा उभिनसमेत लगाइयो । महासचिव शंकर पोखरेल तथा उपमहासचिव विष्णु रिमाल र प्रदीप ज्ञवालीद्वयको यो प्रयासपछि बैठकमा ओलीको पक्षमा बोल्ने होडबाजी चल्यो । अर्कातिर पूर्वराष्ट्रपति भण्डारी र उनको पक्षमा उभिन खोज्ने नेताहरूको सकेसम्म तेजोबोध गरियो ।
केन्द्रीय कमिटीमा बोल्न खोज्दा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाविरुद्ध महेश बस्नेत र खगराज अधिकारीहरूले हुलहुज्जत गरे । आफ्नो धारणाका लागि बैठकमा जोडबल गरेका थापाले हुलहुज्जतविरुद्ध कसेर टेबल ठोक्दै आपत्ति जनाए । उता उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले बोल्दा पनि गरिएको हुलहुज्जत कुनै माछा बजारको भन्दा कम थिएन ।
भण्डारीको पक्षमा लाग्न खोज्ने एकपछि अर्का नेतालाई बैठकमै घेराबन्दी गरेर मानसिक दबाब दिने काम भएको थियो । बैठकमा भण्डारीको पक्षमा बोलेका करिब २ दर्जन नेतालाई अब जुनसुकै बेला कारबाहीको शिकार या जिम्मेवारीविहीन हुने डर छ । ओलीले आफूलाई छेक्न सबै शक्ति लगाउँदा पनि पूर्वराष्ट्रपति भण्डारीले रोकिने छाँट देखाइनन् । यही शुक्रबार अर्थात् साउन ९ गते पत्रकार सम्मेलन नै गरेर कसैले आफ्नो सदस्यता खोस्न नसक्ने घोषणा गरिन् ।
गत असार १४ गते आफूले जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा एमालेको सदस्यता विधिपूर्वक नवीकरण गरेको बताउँदै उनले त्यो विवादको विषय नै नभएको तर्क गरिन् ।
‘मैले पार्टी सदस्यता विधिपूर्वक नवीकरण गरिसकेको अवस्था विवादमा पार्नुपर्ने विषय नै होइन, ’ भण्डारीले त्यस दिन कार्की ब्याङ्कवेटमा भनिन्, ‘तर केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको जानकारी सार्वजनिक गरेपछि चुपचाप बसिरहनु् उचित ठानिनँ ।’
सदस्यता नवीकरणबारे ओलीलाई पनि जानकारी गराएको बताएकी उनले तर केन्द्रीय कमिटीले खारेज नै गरेको खबर सुनेको खुलाइन् । आफू राजनीति गरेरै राष्ट्रपतिमा पुगेको बताउँदै अब पुनः राजनीति गरेर देश र जनताको सेवा गर्न चाहेको बताइन् । ‘म कुनै पदको लागि लालायित छैन, राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा नाम दर्ज गरिसकेको छु, ’ भण्डारीले बबरमहलमा भनिन्, ‘तर बाँकी जीवन पार्टी र राजनीतिमार्फत् जनताको सेवामा समर्पित गर्नेछु ।’
४५ वर्षदेखि एमालेमा सक्रिय रहेको बताउँदै पार्टी निर्माणमा रगत, पसिना र योगदान दिएको स्मरण गराइन् । ‘त्यस्तो पार्टीमा मलाई सदस्य हुन नदिनु अन्यायपूर्ण मात्र होइन, ऐतिहासिक रुपमा गलत निर्णय पनि हो’, उनले त्यस दिन भनिन् । ओलीले कठोर बन्दै नेता–कार्यकर्तालाई चेताइरहेका बेला दुई लाइन संघर्षका लागि तयार हुन पनि आग्रह गरिन् । ‘जननेता मदन भण्डारीको विचार र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा हामीले पार्टीलाई सशक्त, एकताबद्ध र सांगठनिक रूपमा मजबुत बनाउनुपर्छ । यतिबेला स्वार्थरहित निष्ठाको आवश्यकता छ’, उनले दृढ हुँदै भनिन् ।
सबै शक्ति प्रयोग गरेर रोक्न खोज्दा पनि भण्डारीले आक्रामक अभिव्यक्ति दिएपछि अहिले ओली सरकारी निवास बालुवाटारबाटै सक्रिय भएका छन् । केन्द्रीय कमिटी बैठकको बहुमतले भण्डारीलाई पाखा लगाइसकेको अवस्थामा पनि अझै ओलीमा डर बाँकी रहेको बालुवाटारबाट उनले जारी राखेका गतिविधिले देखाएको छ । उनी बालुवाटारबाटै भण्डारीलाई एमालेका सबै गतिविधिमा निषेध गराउने गरी लागिरहेका छन् । केन्द्रीय कमिटी बैठकपछि काठमाडौंमै रहेका विभिन्न प्रदेशका केन्द्रीय सदस्य, संघीय सांसद, प्रदेश सांसद र प्रदेश कमिटीका पदाधिकारीहरूसँग निरन्तरको संवादले त्यही कुरालाई पुष्टि गर्छ ।
पूर्वराष्ट्रपति भण्डारीलाई फर्किन नदिन हरसम्भव कोसिस गरिरहेका ओलीले भूगोलका कमिटी र नेताहरूलाई कुनै किसिमको फोरम उपलब्ध नगराउन भनिरहेका छन् । बालुवाटारमै बोलाएर ओलीले पूर्वराष्ट्रपतिका लागि पार्टीभित्र कुनै स्थान बाँकी नराख्ने गरी लाग्न निर्देशन दिइरहेका छन् । २०८१ वैशाखमा नवीकरण गरेको भण्डारीको संगठित सदस्यता साउन ६ गते मध्यरातिको केन्द्रीय कमिटी बैठकबाट निष्क्रिय बनाइसकेका ओली पालैपालो प्रदेशका नेताहरूसँग संवादमा लागेका हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले बबरमहलमा आफूलाई नवौँ महाधिवेशनमा निर्वाचित एमालेकी पूर्वउपाध्यक्षका रुपमा प्रस्तुत गरेयता ओलीले उनलाई छेक्ने अभियान झन् तीव्र पारेका हुन् । पूर्वराष्ट्रपतिका लागि कुनै बैठक, मञ्च र छलफलको फोरम नदिन भनेका हुन् । ओलीले पालैपालो प्रदेश इञ्चार्जसहितका नेताहरूलाई सरकारी निवासमै बोलाएर भण्डारीका लागि पार्टीभित्र कुनै स्पेश बाँकी नराखी अघि बढ्न भनिरहेका छन् । एमालेले छेकेपछि भण्डारीले मदन भण्डारी फाउण्डेसनबाट सक्रिय हुने कोसिस गरिरहेकी छन् । तर केन्द्रीय कमिटीबाट कठोर निर्णय गराइसेकका ओलीले शनिबार राति मात्रै आफूलाई भेट्न आएका कर्णालीका नेताहरूमाझ भण्डारीलाई ‘हावाको झोंक्का’को संज्ञा दिए । एकातिर महासचिव शंकर पोखरेल पूर्वराष्ट्रपतिलाई पार्टीमा नल्याएर सम्मानित पदमा कायमै राखेको व्याख्या गरिरहेका छन् भने अर्कातिर ओलीले अपमानको श्रृंखलालाई निरन्तरता दिइरहेका छन् ।
शनिबार मात्रै ओलीले कर्णाली र सुदूरपश्चिमका नेताहरूलाई बालुवाटारमा बोलाएर घण्टौँ संवाद गरे । अरू बेला समय निकाल्न मुस्किल पर्ने उनीहरूलाई घण्टौँ समय दिएर भण्डारीका लागि कहीँ, कतै, कुनै स्पेश नदिन कडा चेतावनीसमेत दिएको एक केन्द्रीय सदस्यले बताए । शनिबार ओलीलाई भेट्न सुदूरपश्चिम प्रदेश इञ्चार्ज तथा पार्टी सचिव लेखराज भट्टसहितको टोली बालुवाटार छिरेको थियो । अनौठो त के छ भने ओलीलाई भेट्न लेखराजसँगै सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावल पनि एकसाथ पुगे । लेखराज र राजेन्द्रबीच सुदूरपश्चिममा काटोछिनोको अवस्था छ । राजेन्द्रले केही महिनाअघि च्यासलमै आफ्नो कठालो समात्दा कारबाही नगरेको गुनासो अहिले पनि लेखराजले ओली र महासचिव शंकर पोखरेलसँग गरिरहन्छन् । सुदूरपश्चमिबाट ओलीलाई भेट्न प्रदेशका आन्तरिक मामिला मन्त्री हिरासिंह सार्की र भौतिकमन्त्री सुरेन्द्र पाल पनि बालुवाटार पुगेका थिए । त्यसैगरी केन्द्रीय सदस्य लीलाधर भट्ट, अर्का केन्द्रीय सदस्य निरु पाल र गौरी वली पनि बालुवाटार छिरे । उता पोलिटब्युरो सदस्य गणेश ठगुन्ना र नारदमुनि राना तथा झपट बोहोरा र पठानसिंह बोहोरा ओलीको पक्षमा आफूलाई खडा गर्न बालुवाटार पुगे ।
सुदूरपश्चिमका नेताहरूले ओलीलाई भेट्ने बहाना भने अनौठो थियो । उनीहरूले सुदूरपश्चिमका १३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन माग गरे । जबकि यो माग खासमा विभागीय मन्त्री रघुजी पन्तकहाँ पुग्नुपर्ने हो । त्यहाँ पुगेकाहरूले ‘सत्यसित नलड्ने र शक्तिसित नझुक्ने’ भन्दै ओलीको प्रशंसामा शब्द पनि खर्चिए । शनिबार नै राति ओलीलाई भेट्न कर्णाली प्रदेशको जम्बो टोली बालुवाटार भित्रियो । उनले त्यहाँ पनि पूर्वराष्ट्रपतितिर लक्ष्यित गर्दै तीतो पोखिरहे । केन्द्रीय कमिटीले ठेगान लगाइसकेको व्यक्तितिर लक्ष्यित गर्दै उनले पार्टीमा जबरजस्त देखाइएको हावाको झोंक्काको पछि नलागी एक भएर अघि बढ्न नेताहरूलाई भने । ओलीलाई भेट्न गोरखबहादुर बोगटीसहित रतननाथ योगी, चन्द्रबहादुर बिक, नवराज रावत, विष्णु रिजाल, राजबहादुर बुढा, दल रावल, गोविन्द्र पुन, दल फँडेरा, विनोद शाही, पद्मा बुढा, सूर्यकुमारी श्रेष्ठ, मिनासिंह रखाल, मोहन बानियाँ, भैरवसुन्दर श्रेष्ठ, निरज आचार्य, थमकार बिष्ट, छक्क लामा, नगेन्द्र शाही ‘नेशनल’ र धर्मराज गिरी बालुवाटार छिरेका थिए ।
कर्णालीका नेताहरूसँग तीन घण्टा लामो छलफलमा ओलीले केन्द्रीय कमिटी बैठकमा कर्णालीले एकताबद्ध भएको सन्देश दिएकोमा धन्यवाद पनि दिए । ओलीले संघर्षपूर्ण इतिहासमा ठुल्ठूला तुफानको सामना गरेको एमालेका लागि पछिल्लो पटक देखाउन खोजिएको सानो हावाको झोंक्काले केही असर नगर्ने बताए । उनले पूर्वराष्ट्रपति लक्षित गर्दै दिएको अभिव्यक्तिले अझै पनि उनमा डर रहेको देखाउँछ ।
‘सिंगो एमाले पार्टी र हामी पार्टीका नेता संघर्षपूर्ण इतिहासमा ठूला–ठूला आँधी र तुफानको सामाना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौं’, बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘अहिले बाहिर देखिएको यो सानो हावाको झोँक्का हो । सामान्य रुपमा समाधान हुन्छ । तपाईंहरू यसमा अल्मलिनुभन्दा आफ्नो जिम्मेवारीको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस् ।’ राष्ट्रिय राजनीतिमा पार्टीले लिएको नीति र सरकारका लोकप्रिय काम देखेर केही शक्ति अत्तालिएको पनि उनले बताए । तिनै शक्तिकै कारण पार्टीभित्र अस्थिरताको हावा चलाएको उल्लेख गरे । उनले यो इशारा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीतिर गरेका थिए ।
एमालेमा ओलीनिकटहरूले पूर्वराष्ट्रपति भण्डारीलाई माओवादी अध्यक्ष प्रचण्डसहितले उचालेको आरोप लगाइरहेका छन् । त्यही सन्दर्भमा ओलीले त्यसको लहडमा सम्मानित व्यक्तित्व लाग्नु सिंगो एमालेका लागि दुःखद कुरा भएको बताए । उक्त कुराको पुष्टि एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज गोरखबहादुर बोगटीले नै गरेका छन् । ‘पार्टीको महत्वपूर्ण जिम्मेवारीदेखि सिंगो देशकै अविभावकका रुपमा एमालेले स्थापित गरेकी महामहिम पूर्वराष्ट्रपतिज्यूले पछिल्लो समय जुन निर्णय लिनु भएको छ, त्यो हामीले कल्पना गरेका थिएनौँ’, ओलीको भनाइबारे बोगटीले भने, ‘लामो समय जारी राजनीतिक संघर्षको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतीक हुनुपर्ने व्यक्तिले एमालेको सदस्यताबारे गरेको बखेडाले उहाँकै कद घटाएको छ ।’ देशकै अभिभावक बन्नुपर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँग पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण एमाले पछिल्लो निर्णयमा पुग्नुपरेको ओलीले बताए । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले पनि बालुवाटारमा तीन घण्टा लामो छलफल भएको बताउँदै ओलीकै भनाइको चर्चा गरे । ‘इतिहासमा ठुल्ठूला तुफानहरूको सामना गरेर आएका छौं । यो त सानो हावाको झोँक्का हो । सामान्य रूपमा समाधान हुन्छ’, ओलीको भनाइबारे रिजालले यसरी व्याख्या गरे ।
यो भेटमा सुदूरपश्चिमकै नेताहरूको शैलीमा कर्णालीको टोलीले पनि ओलीसमक्ष संगठन निर्माण र समृद्ध कर्णाली बनाउन सरकारले तय गर्नुपर्ने प्राथमिकताका कुरा राखेको बोगटीले बताए । ओलीले यसरी केन्द्रीय कमिटीमा प्रचण्ड बहुमतले पारित गरेको विषयलाई बालुवाटारमै बोलाएर पालैपालो प्रदेशका नेताहरूलाई प्रवचन दिइरहेका छन् । उनले भूगोलमा भण्डारीको पकडबारे पनि जानकारी लिँदै उनको गतिविधिलाई निष्तेज पार्न सबै शक्ति लगाउन पनि भनिरहेका छन् ।
ओलीले सानो झोंक्काको संज्ञा दिइरहँदा शुक्रबार भण्डारीले गरेको पत्रकार सम्मेलन हेर्न झण्डै आधा दर्जन केन्द्रीय सदस्य पुगेका थिए । कुनै बेलाका ओलीकै प्रिय पात्र विनोद ढकालले स्वागत गर्दा भण्डारीको विचार सुन्न एमालेका केन्द्रीय सदस्यहरूसमेत बबरमहल पुगे । एमाले महासचिव शंकर पोखरेलले सचिवालयमार्फत् प्रदेश इञ्चार्जहरूलाई भण्डारीको पत्रकार सम्मेलनमा एकजना पनि केन्द्रीय सदस्यलाई नजान कडा निर्देशन दिएका थिए । तर उनको उक्त निर्देशन छल्दै भण्डारीलाई केही केन्द्रीय सदस्यले साथ दिए ।
एमाले महासचिवको निर्देशन बेवास्ता गर्दै काठमाडौंकी केन्द्रीय सदस्य सरिता न्यौपाने बबरमहल पुगिन् । अरू केन्द्रीय सदस्यहरू युवराज बाँस्कोटा, सीता पौडेल र रमेश पौडेल भण्डारीका कुरा सुन्न गए । एमालेको भ्रातृसंगठन युवासंघको अध्यक्षमा पराजित सुमन पुरी, प्रेस चौतारीमा निषेध गरिएका राजेश राई र अनेरास्ववियुमा पराजित प्रकाश पौडेल पनि भण्डारीलाई साथ दिन पुगे । उक्त पत्रकार सम्मेलनमा पत्रकारभन्दा तेब्बर बढी एमाले कार्यकर्ताको भीड थियो । ओली र पोखरेलले कारबाहीको चेतावनीसहित निषेध गर्दा पनि एमालेमा देखिएको असन्तुष्टिका केही बाछिटा हजार हाराहारीका एमाले कार्यकर्ताले बबरमहलमा पोखे । भण्डारीको आक्रामक जवाफपछि महासचिव पोखरेल पनि पूर्वराष्ट्रपति जस्तो व्यक्ति पार्टी राजनीतिमा आउन नहुने तर्क गरिरहेका छन् । आइतबार लोकतान्त्रिक आदिवासी संघको कार्यक्रममा उनले सम्मानित व्यक्तिलाई राष्ट्रको साझा बनाइरहन पार्टी सदस्यता रोकिएको जिकिर गरे ।
‘हल्लाकै भरमा चर्चामा आएको पूर्वराष्ट्रपति राजनीतिमा फर्किने विषय पेचिलो बन्दै गएपछि केन्द्रीय कमिटी बैठकले छलफल गरेर निचोडमा पु¥याउनुपर्ने अवस्था आयो । नेपाली सेनाको सुरक्षामा रहने पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राष्ट्रको अभिभावकीय भूमिकामा राखिरहनुपर्ने निचोडमा पार्टी पुगेको हो’, उनले आफ्नो तर्क सुनाए ।
उनले छेक्न खोज्दा पनि पूर्वराष्ट्रपति भण्डारीले जोडबल गरेको बताए । ‘पार्टीको सक्रिय राजनीतिमा आउने विषयलाई महामहिम पूर्वराष्ट्रपति भण्डारीले पेचिलो बनाएपछि उहाँको सदस्यता नवीकरण नगर्ने निचोडमा बैठक पुगेका हौँ’, उनले जिकिरसहित भने । पोखरेलले राष्ट्रपतिबाट बिदा भएपछि भण्डारीले सदस्यता नवीकरण प्रक्रिया अघि बढाएको पनि स्वीकारे । ‘उहाँ (विद्या भण्डारी)ले पार्टी सदस्यता नवीकरण अघि बढाउनु भएको थियो । तर केन्द्रीय कमिटी बैठकले त्यो प्रक्रिया विधिसम्मत नभएको ठहरसहित रद्द गरेपछि अब उहाँ कुनै पार्टीको भन्दा राष्ट्रिय व्यक्तित्व र अभिभावकका रुपमा रहनुभएको छ’, पोखरेलले छेक्नुपर्ने कारणसहितको हिसाब यसरी सुनाए ।
टिप्पणीहरू