अन्तरकलहबीच माओवादी बैठक

अन्तरकलहबीच माओवादी बैठक फाइल फाेटाे

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु हुँदैछ । झण्डै एक वर्षपछि बोलाइएको बैठक माओवादीभित्र चुलिँदै गएको आन्तरिक असन्तुष्टि र अन्तरविरोधबीच बस्न लागेको छ ।

अस्ति बसेको पदाधिकारी बैठकले स्थायी समितिका लागि पाँचवटा प्रमुख एजेन्डा तय गरेको छ । तीमध्ये अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान राजनीतिक परिस्थिति र पार्टीभित्र देखिएको असमझदारीबारे ब्रिफिङ गर्ने बताइएको छ ।

बैठकमा यसअघिको मध्यपहाडी केन्द्रित अभियानलाई निरन्तरता दिने, केन्द्रीय समिति बैठकको मिति तय गर्ने र समाजवादी मोर्चाको विस्तार गर्ने विषयमा छलफल हुने छ। त्यस्तै, संगठन निर्माण, कार्यविभाजन, आन्तरिक एकता सुदृढीकरण, बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप, संसदमा विचाराधीन विधेयक, र जनजीविकासम्बन्धी समसामयिक प्रस्तावसमेत छलफलको एजेन्डामा राखिएको छ ।

पार्टीभित्र पछिल्ला दिनमा वैचारिक विचलन, कार्यशैलीप्रति असन्तुष्टि र नेतृत्वप्रति बढ्दो आलोचनाका स्वर गुञ्जिन थालेका छन् । यही सन्दर्भमा स्थायी समिति बैठक बस्न लागेकोले राजनीतिक वृत्तमा चासो बढेको हो । यो बैठक माओवादी केन्द्रको आगामी मार्गचित्र र आन्तरिक सन्तुलनको सूचक बन्ने धेरैको अनुमान छ ।

टिप्पणीहरू