नहरमा हामफाल्ने र विष खाने दुवै महिला उपचारमा
नहरमा हामफालेकी चितवनकी एक अधवैंशे महिलालाई उद्धारगरी उपचारमा पठाइएको छ । कालिका नगरपालिका–२ बस्ने वर्ष अन्दाजी ३५-४० की मधुरी गुरौ सोही ठाउँको बुङ्कर नहरमा हिजो हाम फालेकी थिइन् । उनलाई नहरमा हामफालेको स्थानीयले देखी तत्काल उद्धार गरी उपचारमा लगिएको प्रहरीले बताएको छ ।
कालिका नगर हस्पिटलमा सामान्य उपचार पश्चात थप उपचारको लागि भरतपुर सरकारी अस्पताल लगिएको जनाइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरी बताउँछ ।
चितवनमा हिजो महिलाले विष सेवन गरेको समेत जानकारीमा आएको छ । खैरहनी नगरपालिका–८ बस्ने वर्ष ४७ की उर्मिला डल्लाकोटीले बेलुकी नौ बजेतिर आफ्नै घरमा राखेको बेस्ट किलर नामक विषादी सेवन गरेकी थिइन् ।
विष सेवन पश्चात् बिरामी भएकी उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ । उनले झुक्किएर विष सेवन गरेको भनिएको छ ।
हिजै राति भरतपुर–२ क्षेत्रपुरमा भेटिएका एउटा बेवारिसे पुरुष व्यक्तिको मृत्यु भएको पनि प्रहरीले बतायो । राति १० बजेतिर चित्रावती पार्टी प्यालेसनिर सीताकुमारी कुमालको घर अगाडि पेटीमा अं. ६०-६५ वर्षको पुरुष बिरामी भई अचेत अवस्थामा भेटिएका थिए ।
तत्काल उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ ।
टिप्पणीहरू