नेपाली उता, विदेशी यता

नेपाली उता, विदेशी यता

काम खोज्दै नेपाली विदेशमा, विदेशी नेपालमा । स्वदेशमा रोजगारी पाइएन भन्दै वर्षौंदेखि नेपाली युवा कामको खोजीमा विदेश गइरहेका छन् । रोजगारीको सिलसिलामा विदेशिने नेपाली युवाको संख्याले हरेक वर्ष रेकर्डमाथि रेकर्ड तोडिरहेको छ ।

श्रम स्वीकृति लिएर खाडीलगायत विभिन्न मुलुकमा वार्षिक लाखौंको संख्यामा नेपाली कामदार गइरहेका छन् । लाखौं रकम खर्चिएर विदेश गएका उनीहरूको एउटै गुनासो सुनिन्छ, ‘स्वदेशमा रोजगारी पाइएन ।’ देशमा काम नपाएर विदेशिनुपरेको पीडा पोख्दै नेपालीहरू विदेश पलायन भइरहँदा नेपालमा भने कामको निम्ति भित्रिने विदेशीको संख्या बढ्दो छ । छिमेकी भारत र चीनसहित अमेरिका, बेलायत, जापान, दक्षिण कोरियालगायत दर्जनौं देशका नागरिक नेपाल आएर काम गरिरहेका छन् । रोजगारीका निम्ति आउने विदेशी कामदार बढिरहेको सरकारी तथ्याङ्कले समेत देखाउँछ ।

मुलुकका विकासे आयोजनामा इञ्जिनियर, बिमान कम्पनीमा पाइलट तथा विभिन्न विशेष प्राविधिक दक्षता आवश्यक हुने क्षेत्रमा विदेशी कामदारको माग बढ्दो छ । त्यस्तै, हाइड्रोपावर, ठूला उद्योग, एनजिओ, आईएनजिओहरूमा पनि उच्च दक्ष श्रमिक विदेशबाटै ल्याउने गरिएको छ ।

बाहिरबाट साढे २५ सय

श्रम ऐन, २०७४ ले नेपालमा काम गर्न विदेशी श्रमिकलाई अनुमति तथा श्रम स्वीकृति दिने व्यवस्था गरे पनि दक्ष कामदार हुनुपर्ने बाध्यकारी व्यवस्था छ । ऐनले कुनै दक्ष प्राविधिक पदका लागि नेपाली नागरिक उपलब्ध नभएमा दक्ष गैरनेपाली नागरिकलाई नियुक्तिका निम्ति स्वीकृतिको व्यवस्था गरेको छ ।

ऐनको परिच्छेद ६, दफा २२ को उपदफा (३) मा भनिएको छ, ‘विदेशी श्रमिक नियुक्त गर्नुपूर्व रोजगारदाताले आफूलाई चाहिएको दक्ष श्रमिक नेपाली नागरिकबाट प्राप्त गर्न राष्ट्रियस्तरको दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्नेछ । त्यसरी विज्ञापन प्रकाशन गर्दा पनि तोकिएबमोजिम दरखास्त नपरेमा वा नेपाली नागरिक छनौट हुन नसकेमा सोको प्रमाणसहित रोजगारदाताले विदेशी श्रमिकलाई काममा लगाउन श्रम इजाजतका लागि विभागसमक्ष निवेदन दिन सक्नेछ ।’

यस अर्थमा दक्ष विदेशी कामदारले मात्र नेपालमा श्रम स्वीकृति पाउँछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार हाल मुलुकमा साढे २५ सय बढी विदेशी कामदार छन् । त्यसमा सबैभन्दा धेरै चिनियाँँ रहेको विभागले जनाएको छ । त्यसपछि इण्डोनेसिया, बंगलादेश, अमेरिका, जर्मनी, इटाली, फिलिपिन्स, क्यानाडा, अफगानिस्तान, अर्जेन्टिना, अष्ट्रेलियासहित ७४ देशका नागरिकले नेपालमा काम गरिरहेका छन् । उनीहरू पूर्वाधार निर्माणदेखि व्यवसायजन्य कार्यमा इजाजत अर्थात् श्रम स्वीकृति लिएर खटिएका छन् ।

श्रम बजारमा भारतीय वर्चश्व

नेपालमा श्रम स्वीकृति लिएर काम गर्नेभन्दा पनि नलिई काम गर्ने तथा बस्ने भारतीयको संख्या ठूलो छ । नेपाल–भारतबीच खुला सीमाना छ । नेपालमा भारतीय श्रमिकले काम गर्न सरकारसँग अनुमति लिनुपर्दैन । यद्यपि, नेपालका बैंक र सरकारी परियोजनाहरूमा काम गर्ने भारतीयले भने श्रम स्वीकृति लिने गरेका छन् ।

यी क्षेत्रमा भारतीय जनशक्ति नगन्य छन् । यसबाहेक खुला सीमानाका कारण ठूलो संख्यामा कामका निम्ति मानिसहरू नेपाल छिर्ने गरेका छन् । उनीहरू यहाँको श्रम बजारमा क्रियाशील छन् । कपाल काट्नेदेखि, चटपटे, तरकारी बेच्ने, निर्माणजन्य कार्य तथा व्यापार व्यवसायमा भारतीयको वर्चश्व देखिन्छ ।

कति भारतीय नागरिक नेपाली श्रम बजारमा क्रियाशील छन् ? उनीहरूले वार्षिक कति रेमिट्यान्स लैजान्छन् ? यसको तथ्याङ्क सरकारसँग छैन । यद्यपि, नेपालमा लाखौंको संख्यामा भारतीय कामदार रहेको र उनीहरूले वार्षिक खर्बौं रेमिट्यान्स लैजाने गरेको विभिन्न अध्ययनले देखाउँछ ।

सन् २०१७ मा अमेरिकाको वासिङ्टन डिसीस्थित रिसर्च सेन्टरको एक अध्ययनले नेपालबाट सबैभन्दा धेरै रेमिट्यान्स भारतले लैजाने गरेको देखाएको थियो । नेपालबाट तीन खर्ब ६३ अर्ब रूपैयाँ रेमिट्यान्स भारत गएको पाइएकोमा सोही अवधिमा यहाँ भने करिब एक अर्ब २३ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

नेपाली सस्ता, विदेशी महँगा

नेपाली कामदारले मलेसिया र खाडीमा सस्तोमा श्रम बेचिरहँदा नेपाल आउने दक्ष जनशक्तिले राम्रो आयआर्जन गरिरहेका छन् । विदेशी श्रमिकले पटक–पटक श्रम इजाजत नवीकरण गर्नुले पनि नेपालमा खुशीयालीसँगै आयआर्जन राम्रो रहेको देखाउँछ । नेपालमा विदेशी श्रमिकको संख्या ठूलो नभए पनि दक्ष जनशक्ति भएकाले उनीहरूले यहाँ काम गरेर लैजाने रेमिट्यान्सको हिस्सा ठूलो छ । उता, नेपाली श्रमिक भने अदक्ष जनशक्तिका रूपमा विदेशिएर सस्तोमा श्रम बेच्न बाध्य छन् । दिनहुँ हजारौंको संख्यामा युवाहरू विदेशिइरहेका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क हेर्ने हो भने पछिल्लो पाँच वर्ष साढे ३१ लाख युवा विदेशिएको देखिन्छ । यसरी लाखौंको संख्यामा युवा बाहिरिँदा तीमध्ये उच्च दक्ष जनशक्तिको हिस्सा निकै कम छ । पाँच वर्षमा एक हजार आठ सय ५५ जना मात्रै नेपाली उच्च दक्ष जनशक्ति विदेश पुगेको सरकारी तथ्याङ्क छ ।

जबकि गत वर्ष मात्र आठ सय ९२ जना विदेशी उच्च दक्ष कामदारका रूपमा नेपाल भित्रिएका थिए । नेपाली कामदारमा सिप नै नभएको होइन तर भएको सिपले अन्तर्राष्ट्रिय बजारमा मान्यता पाएको छैन । अर्कोतर्फ, सिपभन्दा आर्थिक हैसियतका कारण नेपालीले खाडी मुलुकमा सस्तोमा श्रम बेच्नुपर्ने बाध्यता छ ।

विदेशीको माग बढ्दो

नेपालमा विदेशी कामदार भित्रिने क्रम बढिरहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार कोरोना महामारीका बेला विदेशी श्रमिकको माग घटेकोमा पछिल्लो समय बढ्दो छ । देशभित्र दक्ष जनशक्तिको अभाव भएपछि विभिन्न परियोजना, उद्योग र संघसंस्थामा विदेशी कामदार भर्ती हुने र नवीकरण गर्ने क्रम बढिरहेको उनको भनाइ छ । भने, ‘ठूला पूर्वाधारका परियोजनादेखि चिकित्सक, इञ्जिनियर, बैंक, होटललगायत क्षेत्रमा विदेशी कामदारको माग बढ्दो छ ।’
राजमार्ग, सुरङमार्ग, सिँचाइ, विमानस्थललगायत प्राविधिक रूपमा जटिल आयोजनामा पनि विदेशी श्रमिक नै आवश्यक पर्ने प्रवक्ता गोपले बताए । ‘मुलुकका जटिल र ठूलो आयोजना, परियोजनामा दक्ष र प्राविधिक जनशक्तिको आवश्यकता बढ्दो छ । तर, नेपाली दक्ष जनशक्ति विदेशमा छन् । यसले स्वदेशमा दक्ष जनशक्ति नभएपछि विदेशबाट ल्याउने क्रम बढेको हो, ’ उनले भने ।

गोपका अनुसार नेपालमा सबैभन्दा धेरै चिनियाँँ श्रमिक छन् । चिनियाँँ परियोजना बढी सञ्चालन भएको र त्यसका निर्माण कम्पनीहरूले उच्च दक्षता चाहिने पदमा आफ्नै देशबाट कामदार ल्याउने गरेको उनको भनाइ छ ।

 

टिप्पणीहरू