भूमिमन्त्रीलाई तत्काल बर्खास्त गर्न माग
नेकपा माओवादी केन्द्रनिकट चार संघसंगठनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।
माओवादीनिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले संयुक्त विज्ञप्ति निकालेर यस्तो माग गरेका हुन् ।
उनीहरुले भूमिमन्त्री अधिकारीलाई तत्काल बर्खास्त गरेर घुस काण्डमा मुछिएका सबै मन्त्री, सचिव, कर्मचारी र बिचौलियामाथि छानबिन गर्न माग गरेका छन् ।
एउटै काण्डमा मुछिएका मधेशी समुदायका मन्त्रीको राजीनामा तत्काल मागिनु तर सोही काण्डमा अर्का आरोपी मन्त्रीलाई कुनै कारबाही नहुनेले वर्तमान सरकार र एमाले–कांग्रेस मधेशी समुदायप्रति हेपाहा, ब्राह्मणवादी र पहाडिया अंहकारबाट ग्रसित रहनुका साथै घुस काण्डमा प्रधानमन्त्री स्वयंको संलग्नताबारे आशंका उब्जिएको उनीहरुको ठहर छ ।
यस्तै, विघटित राष्ट्रिय भूमि आयोगले १४ लाख बढी निवेदन लिएर लालपूर्जा वितरणको काम अघि बढाएकोमा ओली सरकारले ठोस निर्णय नलिनुका साथै आयोगको नियुक्तिदेखि लालपूर्जासम्ममा घुस बार्गेनिङबारे पटकपटक सार्वजनिक भएको, किसान परिचय पत्र वितरण कार्यक्रम अघि नबढाएकोजस्ता आरोप पनि लगाइएको छ ।
विज्ञप्तिमा सबैको समस्या समाधान हुनेगरी भूमिसम्बन्धी ऐन, २०२१ संशोधन, उखु र दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी, किसानमुखी राष्ट्रिय कृषि नीति र कृषि ऐन जारी, दलित विकास प्राधिकरण गठनलगायत गर्न माग गरिएको छ ।
आफूहरुको माग सम्बोधन नभएमा देशव्यापी संघर्षमा उत्रिने चेतावनीसमेत दिइएको छ । भनिएको छ, ‘हाम्रा मागहरु तत्काल पूरा नगरिएमा देशव्यापी संघर्षमा उत्रिनुको विकल्प नरहने कुरा पनि यसै विज्ञप्तिमार्फत सार्वजनिक गर्न चाहन्छौं ।’
टिप्पणीहरू