सर्जकको निवासमा पूर्वराष्ट्रपति भण्डारी
प्रसिद्ध बसाइँ गीतका सर्जक लव प्रधानलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगरको चुलाचुलीस्थित उहाँको घर पुग्नुभएको छ । विराटनगरबाट प्रकाशित उद्घोष दैनिकको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि बन्नुभएकी भण्डारीले औपचारिक कार्यक्रमपछि वृद्ध वामपन्थी नेता तथा गीतकार प्रधानसँग भेटघाट गर्दै पुराना स्मरणहरु आदान–प्रदान गर्नुभएको छ ।
जनगायक जेबी टुहुरेको स्वरमा चर्चित बनेको ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ’ बोलको गीतका रचनाकार लव प्रधान ‘मित्र’ ले आफ्नै जन्मथलो भोजपुरबाट धरान झर्दै गर्दा देखेको बसाइँ जानेको लस्करले उत्पन्न पीडाबाट प्रेरित भई यो गीत लेख्नुभएको थियो । टुहुरेले २०३५÷३६ सालतिर यसलाई कर्णप्रिय लयमा गाएपछि यो गीत लोकप्रिय बनेको हो । गायक चर्चित भए पनि गीतकार प्रधान भने लामो समय गुमनामजस्तै रहनुभयो ।
२००० साल फागुन १७ गते जन्मनुभएका प्रधान बाल्यकालदेखि नै कला क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । बाँसुरी बजाउन, गीत गाउन र नृत्यमा माहिर प्रधानले देखेको मुगलान पस्ने लस्करकै भावनाबाट २०२६ सालतिर उक्त गीत सिर्जना भएको हो ।
विराटनगरको चुलाचुलीमा पेन्टिङ हाउस चलाएर जीविकोपार्जन गर्दै आउनुभएका प्रधान पछिल्लो समय राजनीतिबाट विरक्त हुनुभयो । एमाले छाडेर पटक–पटक पार्टी परिवर्तन गर्नुभयो । तर नेता विनोद ढकाललगायतको पहलमा उहाँ पुनः एमालेमा फर्कनुभएको छ ।
काठमाडौंबाट हिजो बिराटनगर पुग्नुभएको भण्डारीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कानुन मन्त्री रेवतीरमण भण्डारी, सामाजिक विकासमन्त्री पाँचकर्ण राईले होटलमै पुगेर भेट गरेको बताइन्छ । विराटनगर विमानस्थलमा उहाँलाई कोशी सरकारकी राज्यमन्त्री सृजना राई, एमाले प्रदेश सचिव राजकुमार भण्डारीलगायतले गरेको स्वागत भव्य थियो ।
टिप्पणीहरू