त्रुटिपूर्ण निजामती सेवा विधेयक नै पारितको सम्भावना अधिक

त्रुटिपूर्ण निजामती सेवा विधेयक नै पारितको सम्भावना अधिक

प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित र सो क्रममा दुई वर्षको कुलिङ अफ पिरियडमा भएको चलखेलका प्रावधानसहित संघीय निजामती सेवा विधेयक पारित हुने सम्भावना बढेको छ । राष्ट्रिय सभामा संशोधन प्रस्ताव राखेको एमाले दुई वर्षको कुलिङ पिरियड राख्ने प्रावधानबाट पछि हटेपछि त्यस्तो अवस्था देखिएको बताइन्छ ।

राष्ट्रिय सभाअन्तर्गतको विधायन समितिको हिजोको बैठकमा भएको निजामती सेवा विधेयकमाथिको छलफलमा एमाले कुलिङ पिरियड हटाउने पक्षमा देखिएको छ । प्रतिनिधि सभामा आफ्नै पार्टीका मन्त्रीको प्रस्ताव र समर्थनमा कुलिङ अफ पिरियडमा सहमत एमाले राष्ट्रिय सभामा विधेयक पुगेपछि फरक अडानमा बसेको हो ।

विधेयक पारित गर्ने क्रममा त्रुटि गरिएपछि बनाइएको संसदीय छानबिन समितिले पनि विधेयकमा त्रुटि भएकै निष्कर्ष निकालेको छ । तर एमाले एकाएक पूर्वसहमतिविपरीत कुलिङ अफ पिरियड नै नराख्ने अडानमा प्रस्तुत भएपछि परिस्थिति फरक बन्दै गएको हो ।

आज राष्ट्रिय सभाको बैठक बस्दैछ । विधायन समितिले निजामती सेवा विधेयकमा सैद्धान्तिक छलफलसँगै संशोधनकर्ता सांसदहरूसँग पनि छलफल गर्ने तयारी छ । तर दलहरूबीच सहमति नबनेका कारण विधेयक अन्योलमै परेको हो ।

संविधानअनुसार प्रतिनिधि सभाबाट पारित विधेयकलाई ६० दिनभित्र राष्ट्रिय सभाले पनि पारित गर्नुपर्छ । उक्त प्रावधानअनुसार भदौ १८ गतेसम्म विधेयक पारित नभए यसअघि खेलोफड्को गरिएको विधेयक नै पारित हुने सम्भावना अधिक देखिएको हो ।

टिप्पणीहरू