उपसभामुखलाई सोध्ने प्रश्न तयार पार्दै एमाले

उपसभामुखलाई सोध्ने प्रश्न तयार पार्दै एमाले

सरकारको नेतृत्वकर्ता नेकपा एमालेले उपसभामुख इन्दिरा रानाको अमेरिका भ्रमण शंकास्पद रहेको दावी गर्दै अनुसन्धान गर्नुपर्ने बताएको छ । 

साउन ३० गते नीजि भ्रमणको लागि भन्दै अमेरिका उडेकी राना कस्तो कार्यक्रममा सहभागी भएको हो भन्नेबारे केही नखुलेको एमालेको निचाेड छ । प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुखको अमेरिका भ्रमणलाई रहस्यमय भनेका छन् । 

उनका अनुसार सभामुख र उपसभामुखले सामान्यत: संसदीय मामिलाको क्षेत्राधिकारभित्र रहेर विदेश भ्रमण गर्नुपर्ने हुन्छ । तर, रानाले निजी भ्रमणको नाममा कूटनीतिक राहदानीको दुरुपयोग गरेको बर्तौला आरोप लगाउँछन् ।

‘आज कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि कुरा उठ्यो, उहाँ (राना) उपसभामुख हो, सामान्य नागरिक हैन’, उनले जनआस्थासँग भने, ‘यसरी कूटनीतिक पासर्पोट बोकेर बारम्बार निजी भ्रमण भन्दै अमेरिका जानुको कारण के हो, यो निकै रहश्यमय र शंकास्पद देखिएको छ ।’

समितिको बैठकमा सभामुख देवराज घिमिरेले पनि उपसभामुख रानाको भ्रमणबारे थाहा नभएको जानकारी दिएको बर्ताैला बताए । 

‘हामीले उहाँको भम्रणबारे सभामुखज्यूसँग चासो राखेका थियौँ, उहाँले पनि बिदाको निवेदन आएको मात्र भन्नुभयो, अरु केही थाहा छैन भन्नुभयो, यसले के स्पष्ट पार्छ भने उहाँको भ्रमण पारदर्शी छैन, यो अनुसन्धानको विषय हो’, उनले थपे । 

उपसभामुखलाई हटाउने गृहकार्यस्वरुप सांसदहरुको हस्ताक्षर सकंलन गरेको सन्दर्भमा भने बर्तौलाले फरक कुरा सुनाए । उपसभामुख रानासँग हस्ताक्षरको साइनो सम्बन्ध नरहेको जिकिर छ उनको । 

कुनै पनि पार्टीको संसदीय दलले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेर राख्ने अभ्यास विगतमा पनि हुँदै आएको दृष्टान्त सुनाउँदै उनले अहिले पनि त्यसैको निरन्तरता मात्रै भएको दावी गरे । 

‘उपसभामुखज्यूलाई हटाउनको लागि हस्ताक्षर संकलन गरिएको भनेर जुन प्रचार भएको छ, त्यो सरासर गलत हो’, बर्तौला भन्छन्, ‘विगतमा पनि सांसदहरुको हस्ताक्षर संकलन गरेर राख्ने अभ्यास भएको छ । विभिन्न समितिहरु हुन्छन्, अन्तर्राष्ट्रिय संस्थाहरुसँग पार्टीको साझेदारी हुन्छ, त्यस्तो बेला सांसदहरुको हस्ताक्षर आवश्यक पर्छ ।’

प्रमुख सचेतक बर्तौलाले पार्टीका ३० सांसद अहिले राजधानीबाहिर रहेको जानकारी दिए । उपभामुख राना अमेरिकाबाट फर्किएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोलाएर प्रश्न गर्ने तयारी रहेको पनि खुलाए । 

‘आधाजस्तो मान्यन्यूहरु अहिले पनि बाहिर हुनुहुन्छ, उहाँ (राना)लाई हटाउने नै हो भने त यत्रो हल्ला आवश्यक नै छैन नि, एकैछिन प्रस्ताव र समर्थक तयार भइहाल्छ, एकैछिनमा छिनोफानो भइहाल्छ, तर अहिले जुन हस्ताक्षर संकलन गरिएको भनियो, त्यो पार्टीको आन्तरिक प्रायोजनको लागि मात्रै हो’, बर्तौलाले भने ।

टिप्पणीहरू