सडकमा आक्रोश, सदनमा विधेयक पेश
विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले आजको बैठकमा विधेयकको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
समितिले हिजो विपक्षी दलहरुको फरक मतसहित प्रतिवेदन पारित गरेको थियो । विधेयकका केही प्रावधानमाथि अझै थप छलफल गरेर सुधार गर्नुपर्ने भए पनि हतारमा पारित गर्न लागिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फरक मत राखेका थिए ।
सबै फरक मतलाई प्रतिवेदनमा समेटिएको सभापति थापाले जानकारी दिए । लामो समयपछि जारी हुन लागेको शिक्षा ऐनले नेपालको विद्यालय शिक्षामा ठूलो परिवर्तन ल्याउने थापाको विश्वास छ ।
उता, उक्त विधेयकको विरोधमा नेपाल शिक्षक महासंघले आजै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । विधेयकमा आफूहरुको माग सम्बोधन नगरिएको भन्दै महासंघले प्रधानमन्त्रीदेखि स्थानीय सरकार प्रमुखसम्मलाई ध्यानाकर्षण पत्र बुझाउने र धर्ना दिने तयारी गरेको हाे।
निजी विद्यालयका सञ्चालहरुले पनि पाँच बुँदे मागसहित आन्दोलन गरिरहेका छन् ।
टिप्पणीहरू