टप एन्ड टी-२० सिरिजमा नेपाल पाकिस्तानसँग एक रनले पराजित
अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ । शुक्रबार बेलुकी भएको खेलमा पाकिस्तान शाहिन्ससँग एक रनले पराजित हुँदै नेपालले सिरिजमा चौथो हार बेहोरेको छ ।
जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४३ रनमात्र बनाउन सक्यो । नेपालको लागि कप्तान रोहित पौडेलले अर्धसतक बनाए । उनले ४४ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५२ रन बनाए । यस्तै दीपेन्द्र सिंह एरीले ४१, आसिफ शेखले २७ र लोकेश बमले १० रन बनाए ।
पाकिस्तानको लागि मोहम्मद वासिम र फासिल आक्रमले दुई/दुई विकेट लिँदा मोहम्मद सलमानले एक विकेट लिए ।
यसअघि डार्विनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान शाहिन्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान इर्फान खानले ४२ रन बनाए । इर्फानले २६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दा अब्दुल समदले २६, महोम्मद वासिनले समान २३ रन, यासिर खानले १८ र मेह्रान मुम्ताजले १० रन बनाए ।
बलिङतर्फ नेपालका सोमपाल कामीले ४ ओभरमा ३० रन दिएर तीन विकेट लिए । यस्तै नन्दन यादव, दिपेन्द्र सिंह ऐरीले समान दुई/दुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट लिए ।
यससँगै नेपालले ६ खेलमा दुई जित र चार हारको नतिजा निकालेको छ
टिप्पणीहरू