हैजा पहिचान भएकामध्ये केहीको दिसा परीक्षण टेकूमा
पर्साको वीरगञ्जमा हैजा संक्रमितहरुको संख्या तीव्र रुपले बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा संक्रमितको संख्या ७१ पुगेको जनाएको छ । हैजाकै कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको छ ।
मन्त्रालयले वीरगञ्ज महानगरपालिकाको ११, १२, १३ र १६ नम्बर वडाका १९४ जनालाई झाडापखाला लागेको बताएको छ । तीमध्ये २२ जनालाई आईसियु र ६ जनालाई एचडियुमा राखेर उपचार गरिएको छ ।
हैजा पहिचान भएकाहरूको दिसाको नमूना संकलन गरी २२ वटा नमूना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा र १० वटा नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा पठाइएको मन्त्रालयले जनाएको छ ।
यसैबीच, वीरगञ्ज पुग्नुभएका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हैजा संक्रमितहरुको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको छ । दिउँसो प्रभावित क्षेत्रको अवलोकनपश्चात उहाँले महामारीमा अस्पताल र चिकित्सकहरुले मानवीयताको लागि भए पनि उपचारमा खटिनुपर्ने बताउनुभएको छ । ‘बिरामीको स्वास्थ्य परीक्षणका लागि प्राइभेट अस्पताललाई पनि किट उपलब्ध गराउँछौं’, उहाँले भन्नुभयो, ‘निजी अस्पतालहरूले पनि अहिले मानवीयतालाई ख्याल गरेर सहयोग गर्नुपर्ने अवस्था छ, मेरो अनुरोध पनि छ ।’
टिप्पणीहरू