प्रधानमन्त्रीको पुरानो भिडियो बाहिरिएपछि अनेकौं चर्चा
‘विद्या भण्डारी राष्ट्रपतिबाट हटिसकेपछि निस्क्रिय बस्नुभन्दा राजनीतिमा आउँदा खुशी हुन्छु, राजनीतिमा आए पनि हुन्छ, कुनै सामाजिक कार्यमा लागे पनि हुन्छ’, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ०८० माघमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिंदै भन्नुभएको थियो, ‘पूर्व राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा आउनुहुन्न भन्ने पनि बेकारको कुरा हो। पूर्वराष्ट्रपतिलाई कसैले कांग्रेसको अध्यक्ष बनाउँछ भने पनि पाउँछ, कसैले एमाले अध्यक्ष बनाउँछ भने पनि पाउँछ, वा अर्को कुनै पार्टीले बनाउन चाहन्छ भने पनि पाउँछ। त्यो उहाँको च्वाइसको कुरा हो नि !’
तर अहिले अवस्था ठ्याक्कै उल्टो बनेको छ । पूर्व राष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेसँगै पार्टीमा रोक लगाउने निर्णय गराउनुभएका अध्यक्ष ओली पछिल्लो समय एकपछि अर्को पर्खाल खडा गर्ने प्रयासमा हुनुहुन्छ । पूर्व राष्ट्रपति भण्डारीसँग पार्टीको सदस्यता नै नरहेको दावी गर्दै आउनुभएका उहाँले नेता तथा कार्यकर्तालाई समेत भेट नगर्न दिएको आन्तरिक निर्देशनले पनि उहाँले कुन हदसम्मको पर्खाल खडा गर्नुभएको छ भन्नेबारे स्पष्ट पारेको छ।
‘पूर्व राष्ट्रपतिज्यूको सदस्यता पार्टीले खोसेको होइन। राष्ट्रपति हुनेबेलामा उहाँले सदस्यता परित्याग गर्नुभएको हो। फर्किसकेपछि कर्मचारी झुक्याएर रसिद लिंदैमा सदस्यता नवीकरण हुँदैन’, गत शुक्रबार च्यासलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘उध्रिएको र च्यातिएको कपडा भए पो धागोले सिलाउने टाल्ने हो त। उध्रिएकै छैन, कपडा नै छैन भने कहाँबाट टाल्ने हुन्छ र! नभएको सदस्यता नवीकरण हुँदैन, नयाँ सदस्यता लिएर नवीकरण गर्दै जाने हो।’
प्रधानमन्त्री ओलीको एउटै कण्ठबाट निस्किएका यी दुई विपरित अभिव्यक्तिले पछिल्लो समय सामाजिक सञ्जाल तातिसकेको छ। खासगरी ओलीका आलोचकहरूले पुरानो अभिव्यक्ति (भिडियो) शेयर गर्दै वास्तविक चरित्रको ‘उत्खनन’ गर्ने प्रयास गरिरहेका छन्।
विष्णु राना मगरले प्रधानमन्त्रीसँग बोलीको कुनै ठेगाना नहुनु मुलुककै लागि ठूलो दुर्भाग्य रहेको बताएका छन्। रामशरण पुडासैनीले उग्र प्रतिक्रिया लेखेका छन् । राजु ढकालले प्रधानमन्त्रीले त्यसो भन्नुमा बुढ्यौलीलाई दोष दिएका छन् । कुनैबेला पूर्व राष्ट्रपति भण्डारीको प्रशंसा गरेर नथाक्ने प्रधानमन्त्री ओलीले अहिले व्यक्त गर्नुभएको धारणालाई लिएर एमालेभित्रै पनि तीब्र मतभेद उत्पन्न भएको छ ।
टिप्पणीहरू