सैनिक परेड हेरेर प्रधानमन्त्री १८ गते साँझ आइपुग्ने
फाइल फाेटाे
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच बेइजिङको तियान्जिनमा भेटवार्ता हुने तय भएको छ ।
परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको भ्रमणबारे औपचारिक जानकारी गराएको हो । सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन भदौ १४ गते चीन जान लाग्नुभएका प्रधानमन्त्री त्यहाँ तीन दिन रहने कार्यक्रम छ ।
भ्रमणका दौरान उहाँले १५ गते शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । त्यही दिन चिनियाँ राष्ट्रपति सिसँग भेटवार्ता तय भएको बताइएको छ । उक्त दिन प्रधानमन्त्री ओलीले अन्य मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरूसँग ‘साइडलाइन’ भेटवार्ता गर्नसक्ने पनि विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।
त्यस्तै, प्रधानमन्त्री ओली जापानी आक्रमणविरुद्धको चिनियाँ प्रतिरोध तथा विश्व फासीवादविरोधी युद्धमा विजयको ८०औं वार्षिकोत्सव समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । उक्त दिन उहाँले चिनियाँ उपराष्ट्रपति हान झेङसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।
भ्रमण दलमा प्रथम महिला राधिका शाक्यसहित शिक्षामन्त्री रघु पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे,नेपाली कांग्रेसका उपसभापति तथा संघीय सांसद पूर्णबहादुर खड्का,छविलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालगायत सरकारी अधिकारीहरु सहभागी रहनेछन् ।
आगामी बुधबार भदौ १८ गते अर्थात सेप्टेम्बर ३ तारिख बिहान ८ बजेको सैनिक परेड अवलोकन गरेर प्रधानमन्त्रीको टोली हिमालय एअरलाइन्सको चार्टर्ड उडानमा बेलुका काठमाण्डौ आइपुग्ने कार्यक्रम छ । भ्रमण तयारीका निम्ति चिनियाँ राजदूत छन सोङ्ग आजै बेइजिङ्गतर्फ प्रस्थान गर्नुभएको छ ।
टिप्पणीहरू