मधेसमा विद्यालाई रोक्न मान्छे तोकी तोकी फोन
पूर्वराष्ट्रपति तथा तत्कालीन उपाध्यक्ष विद्या भण्डारीको सदस्यता खारेज गर्दै पार्टीमा रोक लगाएको एमाले नेतृत्वले कार्यकर्ता भेटघाटमा पनि अघोषित प्रतिवन्ध लगाउन थालेको छ । प्रदेश र जनसंगठनका नेताहरूलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर विद्याको पक्षमा नलाग्न निर्देशन दिइरहेको संस्थापन (ओली-शंकर) पक्षले जिल्ला तहका कार्यकर्तालाई भने फोनबाट 'सम्झाउने' रणनीति बनाएको पाइन्छ ।
यसबीच आगामी शनिवार वीरगञ्ज जान लागेकी विद्यालाई नभेट्न र उनको स्वागतका लागि एयरपोर्ट पनि नजान अध्यक्ष ओलीको सचिवालयबाट मधेशका नेता-कार्यकर्तालाई धमाधम फोन गर्न थालिएको बताइन्छ । राष्ट्रपति भैसकेको मान्छे राजनीतिमा आउन नहुने तर्कका आधारमा विद्यालाई नभेट्न केन्द्रले घुमाउरो थ्रेट दिएको पर्साका एक स्थानीय नेताले बताए ।
तर,पूर्वराष्ट्रपति राजनीतिक कार्यक्रमका लागि वीरगञ्ज जान लागेको होइन । उध्योग वाणिज्य संघ पर्साले आयोजना गर्न लागेको महिला उद्यमी सम्मान कार्यक्रममा उहाँलाई प्रमुख अतिथिको रुपमा बोलाइएको हो । समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यावसायिक महिलाहरूलाई सम्मान गर्ने यो कार्यक्रममा कुनै पनि राजनीतिक दलका नेतालाई निम्तो छैन । कार्यक्रम व्यवस्थापनको जिम्मा चिकित्सक डा. लक्ष्मी थापालाई दिइएको छ । स्थानीय एक अस्पतालमा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत उनी राष्ट्र बैंकका पूर्व निर्देशक तथा अर्थमन्त्री भरतमोहन अधिकारीका सल्लाहकार स्वर्गीय डा. गोविन्दबहादुर थापाकी छोरी हुन् । यस हिसाबले यो नितान्त गैरराजनीतिक कार्यक्रम हो ।
एमालेको नेता बन्न खोजेको होइन ? खोइ त कार्यकर्ता एयरपोर्टमा स्वागत गर्नसम्म आएनन् नि ! भन्ने पार्न खोजेको बुझिन्छ ।'
तर,राजनीतिमा फर्किएको घोषणा गरिसकेकी पूर्व राष्ट्रपतिले त्यहाँ एमाले र अन्य पार्टीका मधेशी नेताहरूलाई भेट्नसक्ने सम्भावना छ । यो थाहा पाएरै बालुवाटारले कार्यकर्तालाई रोक्न खोजेको बुझिन्छ । विद्यालाई एयरपोर्टमा स्वागत गर्दा उनको पक्षमा कार्यकर्ता रहेको सन्देश जाने भएकाले पर्सा र बाराका कार्यकर्तालाई 'खबरदार' भनिएको एमालेका एक मधेशी नेताले खुलाए ।
'एमालेको नेतृत्व तहमा रहिसकेको र देशको राष्ट्रपतिजस्तो पदमा पुगेको व्यक्ति आफ्नो जिल्लामा आउँदा कार्यकर्ता भेट्न लालायित छन्', बाराका अर्का नेता भन्छन्, 'तर,अध्यक्षको सचिवालयबाटै तपाईंहरू त्यहाँ नदेखिनुस् है भन्ने ढंगले कुरा गरेपछि के गर्ने,कसो गर्ने भन्ने अन्ल्योलताको अवस्थामा छौँ ।'
बालुवाटारको रणनीति खुलाउँदै उनै नेता भन्छन्, 'पूर्वराष्ट्रपतिको पदीय गरिमाको कुरा गरेर कार्यकर्तालाई प्रभावित पार्न खोजिएको छ । तर, खासमा एमालेको नेता बन्न खोजेको होइन ? खोइ त कार्यकर्ता एयरपोर्टमा स्वागत गर्नसम्म आएनन् नि ! भन्ने पार्न खोजेको बुझिन्छ ।'
यसअघि विद्या विराटनगर जाँदा पनि केही स्थानीय नेता-कार्यकर्तालाई बालुवाटारबाट फोन गएको थियो । केन्द्रबाट खबरदार भन्दै तर्साएपछि चाहना हुँदाहुँदै पनि धेरैले भेट्ने आँट गरेनन् । त्यसकारण मोरङका विनोद ढकाल लगायत थोरैले मात्र भेटघाट गरेका थिए । विगतमा विद्या पक्षकै भएर मुख्यमन्त्री खाएका र अहिले ओलीतिर लागेका शेरधन राई भने स्वागत गर्न पुगेका थिए ।
मधेसको हकमा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल,केन्द्रीय सदस्य अरविन्द सिंहलगायतका नेता विद्याको पक्षमा रहेको बताइन्छ । बाराका नेता पौडेल पूर्व खेलकुदमन्त्री पनि हुन् । १० भाइ समूहका उनलाई अध्यक्षको कर्के नजरमा पर्दा केसम्म हुन्छ भन्ने यसअघि नै राम्रो अनुभव भएकाले विद्यातिर प्रष्ट खुलेका छैनन् । तथापि पूर्वराष्ट्रपति जत्तिको मान्छे वीरगन्ज आइसकेपछि एयरपोर्टमा स्वागत गर्न जानुपर्छ भन्नेमा चाहिँ उनी सहमत रहेको बताइन्छ ।
मधेशमा अध्यक्ष ओलीको रणनीति लागू गर्ने जिम्मेवारी अहिले माओवादी पृष्ठभूमिकी ज्वाला साह र अच्युत मैनालीहरुलाई छ । नेकपा विभाजनपछि ०७८ सालमा एमाले बनेकी ज्वाला पार्टी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुन् । ०३८ सालमा मदन भण्डारीबाट एमालेको सदस्यता लिएकी विद्यालाई रोक्ने अभियानको नेतृत्व यिनैले गरिरहेकी छन् । 'कुनै हालतमा नजानु । गएको थाहा पाइयो भने नोटिसमा पर्छौ भनेर थर्काएका छन्',जिल्ला कमिटी बाराका एक नेताले भने ।
०७८ सालमा एमाले बनेकी ज्वाला पार्टी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुन् । ०३८ सालमा मदन भण्डारीबाट एमालेको सदस्यता लिएकी विद्यालाई रोक्ने अभियानको नेतृत्व यिनैले गरिरहेकी छन् ।
कोशीपछि अन्य प्रदेशको तुलनामा मधेशमा विद्याको अवस्था राम्रो रहेकाले अध्यक्ष ओली र महासचिव शंकर पोखरेल अत्तालिएको दावी नेताहरूको छ । हालै भएको विधान महाधिवेसन केन्द्रित छलफलमा धनुषा,सिराहा र पर्सा जिल्लाका कार्यकर्ताले विधानबाट बरिष्ठ उपाध्यक्ष पद हटाउने र विद्याको सदस्यता खारेज गर्ने केन्द्रीय कमिटीको निर्णय सच्याउन लिखित असहमति लेखेका थिए । ८ जिल्लाका एक-एक र जनसंगठनको एउटा गरी ९ वटा समूह बनाएर छलफल चलाएकोमा अधिकांशले सदस्यता नवीकरण नगर्दा आमरुपमा राम्रो सन्देश नगएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
तर,केन्द्रीय प्रतिनिधि बनेर गएकाहरूले लिखित असहमति दर्ज गर्न नदिएको गुनासो त्यहाँका कार्यकर्ताले गरेका छन् । पूर्वमन्त्रीसमेत रहेकी पोलिटब्यूरो सदस्य तथा सांसद जुली महतो धनुषा र पूर्वमन्त्री लीलानाथ श्रेष्ठ सिराहाको प्रतिनिधि थिए । छलफलमा कुरा उठ्यो- 'एमालेले मदन भण्डारीको परिवारका मान्छेलाई त सदस्यता दिंदैन भनेर टोल समाजमा जाँदा हामीलाई सोध्छन्,अरु पार्टीका मान्छेले पनि प्रश्न उठाइरहेका छन् । तर, हामी बोल्न सक्ने स्थितिमा छैनौँ ।'
सहजकर्ता बनेर गएका जुली र लीलानाथले भने केन्द्रीय कमिटीले निर्णय गरिसकेकाले विद्याको सदस्यताबारे छलफल नहुने भन्दै मुख टाल्ने काम गरेको गुनासो कार्यकर्ताको छ । 'अध्यक्षलाई खुशी पार्न हाम्रो जिल्लामा विवाद छैन भनेर निर्णय लेखाए पनि तलैसम्म असन्तुष्टि गहिरिएको छ', उनै केन्द्रीय सदस्य सुनाउँछन्, 'अहिले विद्यालाई स्वागत गर्न जाँदा अध्यक्षको नजरमा नम्बर घट्छ भनेर त्रासको स्थिति बनाइएको छ ।'
पार्टीका इमान्दार नेता-कार्यकर्तालाई गुटको तरबार उज्याएर प्रताडनामा पार्ने एमाले नेतृत्व अर्को पार्टीका कार्यकर्ता बटुलेर शक्ति आर्जन गर्ने दौडमा देखिन्छ । केही दिनअघि प्रभु साहको आम जनता पार्टी परित्याग गरेको भनिएका केही व्यक्तिलाई अध्यक्ष ओलीले निकै महत्व दिएर भित्र्याएका थिए । तर,च्यासलमा बाढी आएको दिन प्यान्ट माथि सार्दै पुगेका अध्यक्ष ओलीले खादा लगाएर प्रवेश गराएकाहरू पहिल्यै प्रभुको कारवाहीमा परेको खुलेको छ ।
लगत्तै दिउँसो मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत गद्दीसँग भंगालस्थित निवासमा लामो छलफल गर्नुभएको थियो ।
ओलीले पार्टीमा प्रतिवन्ध लगाए पनि एमाले नछोड्ने अठोट गरेकी पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक भेटघाट भने झन व्यापक भैरहेको छ । विराटनगर जानुअघि एमालेको दोस्रो,तेस्रो तहका नेतालाई भंगालस्थित निवासमै बोलाएर लगातार छलफल गरेकी उहाँ केही दिनयता अन्य पार्टीका नेतासँग पनि भेटघाटमा हुनुहुन्छ । अस्ति मंगलबार मात्रै उहाँले दुई महत्वपूर्ण भेट गर्नुभयो,त्यो पनि दुवै मधेसी नेतासँग ।
अस्ति बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झालाई भेटेलगत्तै दिउँसो मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत गद्दीसँग भंगालस्थित निवासमा लामो छलफल गर्नुभएको थियो । मनिषले औपचारिक जानकारी दिए पनि लालबाबुसँगको भेटबारे केही बताइएको छैन । तर, जसपा नेपालका महासचिवसमेत रहेका उनीसँग मधेसको राजनीतिबारे छलफल भएको हुनसक्ने अनुमान गरिएको छ ।
ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको जसपाले भूमि विधेयकको विरोध गरिरहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले प्रतिष्ठाको सवाल बनाएको विधेयकको विरोधमा रहेको जसपाका प्रभावशाली नेताले विद्यासँग भेट्नुलाई कतिपयले अर्थपूर्ण ठानेका छन् ।
विद्याले सोमबार बेइजिङबाट फर्केका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र बागमती प्रदेशका यातायातमन्त्री जयराम थापालाई भेट्नुभएको थियो । एमाले नेतासमेत रहेका मन्त्री थापा राति सवा ७ बजे भंगाल पुगेका थिए । उनी पौने पौने ९ बजे त्यहाँबाट निस्किएको बताइएको छ ।
यसअघि पार्टीले प्रतिवन्ध लगाउँदै गर्दा कांग्रेस नेता शेखर कोइरालालाई भेटेकी भण्डारीले लगत्तै पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग संवाद गर्नुभएको थियो ।
टिप्पणीहरू