आफ्ना माग सुनाउन शिक्षकहरू माओवादी अफिसमा

आफ्ना माग सुनाउन शिक्षकहरू माओवादी अफिसमा

प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै आएका शिक्षक नेताहरूले आज माओवादी मुख्यालयमा धर्ना दिएका छन् । 

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा रहेको टोलीले आज कोटेश्वर, पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पुगेर धर्ना दिएका हुन् । केहीबेरमा ध्यानाकर्षण पत्र बुझाउने तयारी छ । 

महासंघ र सरकारबीच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन दबाब दिने उद्देश्यले महासंघले दबाबमुलुक कार्यक्रम गर्दै आएको छ । जसअन्तर्गत हिजो च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा धर्ना दिएका शिक्षकहरूले अस्ति नेपाली कांग्रेसको कार्यालयमा धर्ना दिन पुगेका थिए । 

महासंघले भदौ २० सम्म धर्ना कार्यक्रम जारी राख्नेछ । २१ गतेसम्म पनि सरकारले आफूहरुको मागलाई बेवास्ता गरेमा काठमाडौँ केन्द्रीत आन्दोलन चर्काउने महासंघको चेतावनी छ । उनीहरुले संघीय संसद र शिक्षा समितिको कार्यालय समेत घेराउ गर्ने योजना बनाएका छन् । 
 
संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा महासंघका मागहरु सम्बोधन गर्न दबाब दिनको लागि आफूहरु आन्दोलनमा उत्रिएको महासंघका अध्यक्ष सुवेदीले जानकारी दिए । सार्वजनिक शिक्षालाई उन्नत गराउनको लागि शिक्षक कर्मचारी र नेपाल शिक्षक महासंघले राखेका मागहरु सम्बोधन गर्नुको विकल्प नरहेको उनको भनाइ छ । 

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक भदौ ५ मा पारित गरिएको थियो । विधेयकमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले फरक मत राखेका छन् ।

टिप्पणीहरू