गृहमन्त्रीको राजीनामा माग्दै एमाले सांसद- ‘मलाई दिनुस्, एक महिनामै देखाइदिन्छु’

गृहमन्त्रीको राजीनामा माग्दै एमाले सांसद- ‘मलाई दिनुस्, एक महिनामै देखाइदिन्छु’

सत्तारुढ नेकपा (एमाले)का सांसद किरणकुमार साहले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । मुलुकको शान्तिसुरक्षा र जनताको सेवामा गृहमन्त्री असफल भएको निष्कर्षसहित उनले संसदबाटै राजीनामा मागेका हुन् । 

रौतहटमा पछिल्लो एक महिनाभित्रै पाँच जना निर्दोष नागरिकले ज्यान गुमाउँदा पनि सुरक्षा संयन्त्र तमासा हेरेर बसिरहेको साहको आरोप छ । 

‘सुशासनको नारा लगाउनेहरुकै पालामा देश कुशासन र अपराधको दलदलमा फस्दै गएको छ’, आजको प्रतिनिधिसभा बैठकमा उनले भने, ‘रौतहटमा रुबी साहको लाश सुटकेशमा फेला पर्छ, रोमा साहको लाश वेवारिशे भेटिन्छ, सहादुविन मियाँको चच्कु प्रहारबाट हत्या हुन्छ, लक्ष्मण पासवानले प्रेमको प्रसंगमा आफ्नै शरिरमा आगो लगाएर ज्यान गुमाउँछन्, उपेन्द्र भगतको लाश गेष्ट हाउसमा भेटिन्छ ।’

यी सारा घटनाले गृह मन्त्रालय र सुरक्षा संयन्त्रको कमजोरी प्रमाणित गरेकाे सांसद साहले दाबी गरे । उनले आफू गृहमन्त्री भएमा एक महिनामै सुशासन ल्याएर देखाइदिने पनि बताएका छन् ।

‘यो सबै गृहमन्त्रीको लापरवाही र कमजोरी हो, यदि गृहमन्त्रीसँग मन्त्रालय चलाउने क्षमता छैन भने मलाई दिनुस्’, साहले भने, ‘म एक महिनामा देखाउँछु सुशासन भनेको के हो ? संविधान कार्यान्वयन कस्तो हुन्छ ? कानुनको शाषण कस्तो हुन्छ ? म देखाउँछु ।’

आफूलाई बडिउड चलचित्र ‘नायक’को हिरोसँग तुलना गर्दै काम गर्न नसके सांसद पदबाट राजीनामा दिने उद्घोषसमेत उनले गरेका छन् । भने, ‘मैले यसो बोलिरहँदा हाँस्यास्पद लाग्न सक्छ कसैलाई, तर म नायक फिल्मको हिरोजस्तो सफल हुन सकेन भने यो सदनमै म राजीनामा दिएर हिँड्नेछु । हत्यारा र अपराधी जति शक्तिशाली भए पनि उन्मुक्ति दिनुहुँदैन ।’

टिप्पणीहरू