भीमकान्तको हिसाबकिताब,मन्त्री म्याडम हेरेको–हेर्यै
स्थानीय तहमा निमित्तको जिम्मेवारीका कर्मचारी सरुवा गर्न लाग्दा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको फेसबुक स्टाटसले ठूलो चर्चा पाएको छ । मन्त्रीले एकाएक स्टाटस लेख्दा, रनभुल्ल परेर सरुवा सूचीलाई अन्तिम रुप दिइएको देखिन्छ।
सामान्य प्रशासनमन्त्रीको निजी सचिवालयमा काम गर्ने भन्दै तनहुँ कर्मचारी संगठनका अध्यक्ष सिंहदरवार पुगेका छन् । तर व्यास नगरपालिका सरुवा भएका तनहुँकै सुकदेव लम्साल भन्छन्, ‘मान्यज्यू त हाम्री दिदी हुन्,यो सरुवा मिलाउने काम हाम्रो हो।’
मध्यबिन्दुमा पाँच महिना कटाउन मुश्किल भएको भन्ने शिशिर पौडेल, सञ्चारमा सरुवा भएको सात महिना नपुग्दै शुक्लागण्डकी नगरपालिका, तनहुँ गएका छन् । ढुङ्गा,गिटी र क्रसरको आयका कारण शुक्लागण्डकीलाई कर्मचारीहरूले मालदार स्थानीय तह मान्ने गर्दछन् । उता स्थानीय रामचन्द्र लामगादेले अर्को राम्रो ठाउँ गैंडाकोट नगरपालिका,नवलपरासी पूर्व जाने चाँजोपाँजो मिलाएका छन्।
हरिराम नागिलालाई त्यही समूहले मध्यनेपाल नगरपालिका लमजुङ लगेको छ भने त्यहाँका चण्डिका पौडेलको एक वर्ष नपुग्दै श्रम मन्त्रालयअन्तर्गत सरुवा भएको छ । उनी पोखरा श्रम कार्यालयको हाकिम बन्ने तयारीमा रहेको स्रोतको दावी छ । त्यसकै लागि अस्तिसम्म काठमाडौं बसेर शुक्रबार मध्यनेपाल नगरपालिकाबाट बिदा भएका हुन् ।
म्याग्दीको बेनी नगरपालिकाबाट मेयरसँग सहज ढंगले कार्यसम्पादन गरिरहेका अर्जुन शर्मालाई सरुवा गरेर उनको स्थानमा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रशासन चलाइरहेका अधिकारी गएका छन् । गण्डकीकै भौतिक पूर्वाधारतर्फ एमाले निकट मन्त्री प्रकाश केसीलाई सघाइरहेका प्रेम सुवेदी रुकुम पश्चिम पुर्याइएका छन् ।
बेसीशहर नगरपालिकामा लमजुङका चेतनाथ अर्याललाई अतिरिक्तमा तानेर, लमजुङको सुन्दरबजार पुर्ख्यौली घर भएका सुमन अधिकारी लगिएका छन् । शाखा अधिकृत अजम्बर राईलाई सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाएर भाद्र २ मा पठाइएको थियोे । भदौ ५ गते त्यहाँ हाजिर भएको आठ दिनमै मन्त्रालयले उनलाई तानेर तुलसीराम आचार्यलाई पठाएको छ ।
शाखा अधिकृत अजम्बर राईलाई सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाएर भाद्र २ मा पठाइएको थियोे । भदौ ५ गते त्यहाँ हाजिर भएको आठ दिनमै मन्त्रालयले उनलाई तानेर तुलसीराम आचार्यलाई पठाएको छ ।
स्याङ्जाको आँधीखोला घर भएका भीमकान्त पौडेल स्थानीय तह कर्मचारी प्रशासन शाखामा उपसचिव छन् । सरुवाको सूची मिलाएर उनले अन्तिम निर्णयसम्म पुर्याएको बताइन्छ । शाखा अधिकृत पिताम्बर सारुले उनीभन्दा मुनि बसेर काममा सहयोग गरिरहेको कर्मचारीहरुको भनाइ छ । यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा एमाले निकट कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारी पनि छन् । स्रोतका अनुसार यस पटकको सरुवा सूची तयारीमा उनी खासै सक्रिय देखिँदैनन् ।
तत्कालीन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनका नाममा ठूलो काम गरेको वाहवाही लिन खोजेको पदचाप पछ्याउँदा अहिले मन्त्री भगवती न्यौपाने फस्न पुगेको एमाले कर्मचारीको निचोड छ । अर्को रोचक पक्ष चाहिँ स्याङ्जाका स्थानीय तहहरूमा दुई वर्ष वा सोभन्दा बढी अवधी पुगेका केही कर्मचारीको सरुवा भएको छैन । उदाहरणका लागि फेदिखोला र बिरुवा गाउँपालिका हुन् । तर गल्याङ नगरपालिका र चापाकोट नगरपालिकामा मात्र सरुवा हुनु र अन्य स्थानीय तहमा नहुनुुलाई अचम्म ठानिएको छ । यसमा पूर्वमन्त्री तथा एमाले सचिव पद्मा अर्यालको स्वार्थले काम गरेको भन्नेहरु पनि छन् ।
स्रोत बताउँछ, ‘यो सबै खेल दुई वर्षपछि हुने स्थानीय तहको निर्वाचन लक्षित हो ।’
टिप्पणीहरू