एएफसी महिला च्याम्पियन्स लिगमा एपीएफको तेस्रो हार
एएफसी महिला च्याम्पियन्स लिग २०२५/२६ को प्रारम्भिक चरण अन्तर्गत भएको आफ्नो अन्तिम खेलमापनि नेपाल एपीएफ क्लब पराजित भएको छ । आइतबार बेलुकी भएको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाको अल नासरसँग ६-१ गोलले पराजित हुँदै एपीएफले लगातार तेस्रो हार बेहोरेको हो । यससँगै एपीएफले जितविहीन बन्दै प्रतियोगिताको अन्त्य गरेको छ ।
मार्काजी स्टेडियममा भएको खेलमा अल नासरलाई जित दिलाउन ब्राजिलियन फरवार्ड डुडाले ह्याट्रिक पूरा गर्दा क्लारा लुभान्गाले दुई र शोखन साड्राल्दिनले एक गोल थापिन् । एपीएफको लागि सविता राना मगरले सान्तवाना गोल गरिन् । खेलको चौथो मिनेटमै लुभान्गाले गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । ४० औं मिनेटमा डुडाले गोल गर्दै अल नासरलाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाइन् ।
५० औं मिनेटमा सविताले गोल गर्दा एपीएफले खेलमा फर्कने संकेत गरेको थियो । तर ६१ औँ मिनेटमा लुभान्गालले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरको अग्रता दोब्बर बनाइन् । ६९ औँ मिनेटमा कप्तान डुडाले फ्रिकिकमा व्यक्तिगत दोस्रो गोल गर्दा अल नासर फराकिलो जिततर्फ अग्रसर भएको थियो । ८० औँ मिनेटमा डुडाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर अल नासरलाई ५-१ गोलको अग्रता दिलाइन् ।
यस्तै ८६ औँ मिनेटमा शोखन साड्राल्दिनले गोल गर्दै अल नासरलाई ६-१ गोलको जित दिलाएकी हुन् । जितसँगै अल नासरले तीन अंक जोडेको छ । यता एपीएफ भने तीन खेलबाट अंकविहीन रहँदै तालिकाको अन्तिम स्थानमा रहेर प्रारम्भिक चरणको अन्त्य गरेको छ ।
टिप्पणीहरू