पहिले ‘ब्याड टच’ को बात,दोहोरी साँझमा लाग्यो मात
कलाकारलाई देशको गहना मानिन्छ । उनीहरुका स–साना गतिविधिले पनि समाजमा ठूलो प्रभाव पार्छ । प्रविधिको उच्च विकासका कारण कलाकारले लगाउने पोशाक,चढ्ने सवारी साधन र खाने भोजनसमेत दर्शकले तत्काल सिको (कपी) गर्न थालेका छन् ।
उक्त परिदृश्यमा कलाकारहरुले दर्शकलाई नै मात खुवाउनेगरी मदिरा पिएर तमाशा देखाउन थाले भने के होला ? पुराना कलाकार चेतन सापकोटाले हालै एक दोहोरी साँझमा देखाएको हर्कतले मनोरञ्जन वृत्तमा यस्तो प्रश्न उब्जाएको छ ।
त्यसो त,मदिरा पिउनु व्यक्तिको निजी मामिला हो । तर कहाँ र कोसँग बसेर मदिरा पिइरहेको छु भन्नेसमेत थाहा नपाउनेगरी सापकोटाले हालै ठमेलको एउटा दोहोरी साँझमा तमाशा देखाएको भिडियो बाहिरिएको छ । स्रोतका अनुसार उनले उभिनै नसक्नेगरी मदिरा पिएर दोहोरी साँझ सञ्चालकहरुसँग लफडा गरेका थिए । यद्यपि, निकटस्थहरुले चेतनलाई सम्हालेपछि ठूलो विवाद हुन पाएन ।
यसअघि मदिरा पिएर आफ्नै साथीकी छोरीलाई ‘ब्याड टच’ गरेको आरोप लागेको थियो
प्राप्त भिडियोमा सापकोटा दोहोरी साँझको फ्लोरमै उत्तानो परेर नाचेको देखिन्छ । उनी मदिराले मात्तिएर उभिनै नसकेपछि जुत्ता र मोजा खोलेर भुइँमा बस्छन् । त्यसपछि दुई खुट्टा आकाशतिर फर्काएर नाच्न थाल्छन् । सापकोटाको उक्त हर्कतपछि दोहोरी साँझका सञ्चालकहरुले सभ्य भएर बसिदिन आग्रह पनि गरेका थिए । तर उल्टै आफ्नो पहिचानको धाक दिएर धम्कीको प्रयास गरेको स्रोतले बतायो ।
संगीतकार संघ नेपालको पूर्व अध्यक्ष समेत रहेका सापकोटाले यसअघि मदिरा पिएर आफ्नै साथीकी छोरीलाई ‘ब्याड टच’ गरेको आरोप लागेको थियो । त्यस्तै,विदेशको एक कार्यक्रममा पनि अत्यधिक मदिरा पिएर एक युवतीमाथि दुर्व्यवहार गरेको चर्चा मनोरञ्जन वृत्तमा व्यापक भएको थियो । सापकोटा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य समेत हुन् ।
टिप्पणीहरू