एमाले नेतृत्वका स्थानीय सरकार निल
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । स्थानीय तह निर्वाचनमा एमाले र कांग्रेसले नै धेरै ठाउँ जितेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जसले देशभरका स्थानीय तहलाई नेतृत्व गर्छ, त्यसको जिम्मेवारीमा पनि एमाले नेत्री भगवती न्यौपाने छिन् । जनतालाई समृद्ध बनाउँदै संघीयताको सवलीकरण र राजनीतिक परिवर्तनको अनुभूत गराउनुपर्ने जिम्मेवारी एमालेकै काँधमा भएजस्तै देखिन्छ तथ्य र जनताको म्याण्डेट हेर्दा ।
तर, एमालेका तर्फबाट जितेका जनप्रतिनिधिको कार्यकुशलतामाथि निकै ठूलो प्रश्न उठेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको कार्यक्षमता स्वमूल्यांकन प्रतिवेदनमार्फत देशभरबाट उत्कृष्ट ६ स्थानीय तह घोषणा हुँदा मूल नेतृत्व कांग्रेसले गरेका ४ वटा र माओवादीले सम्हालेका दुई वटा उत्कृष्ट भए । यो परिणामलाई लिएर एमालेभित्र स्थानीय तहको काम समन्वय गर्ने नेता चकित भएका छन् । एमाले नेतृत्वका स्थानीय तहले किन क्षमता देखाउन सकेनन् ? प्रश्न उठ्न लागेका छन् ।
कांग्रेसका शशीकुमार खनियाँ नगरप्रमुख रहेको चितवनको खैरहनी नगरपालिका सर्वोत्कृष्ट भएको छ । यस्तै, दोस्रोमा कांग्रेसका भीम ढुंगानाले नेतृत्व गरेको धादिङको नीलकण्ठ नगरपालिका र तेस्रोमा कांग्रेसकै रामकृष्ण खाँण प्रमुख रहेको तिलोत्तमा नगरपालिका छन् । ३ नगरपालिका र ३ गाउँपालिकालाई उत्कृष्ट घोषणा गर्ने मन्त्रालयको नीतिमा परेका तीन गाउँपालिकामा माओवादी केन्द्रले जितेको बेनीघाट रोराङ र गुल्मीको रुरुक्षेत्र गाउँपालिका छ । बेनीघाट रोराङमा माओवादी केन्द्रका कृष्णबहादुर थपलिया मेयर र नेकपा एसका टापबहादुर श्रेष्ठ उपमेयर अनि रुरुक्षेत्र गाउँपालिकामा माओवादीकै यदु ज्ञवाली प्रमुख छन् । गाउँपालिकातर्फ उत्कृष्ट तीनमध्ये एउटामा कांग्रेसको अध्यक्ष छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा कांग्रेसका प्रकाश तिवारी प्रमुख छन् ।
टिप्पणीहरू