प्रधानमन्त्रीले सैन्य परेड हेरेकोबारे सदनमा प्रश्न
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा भएको भनिएको ग्लोवल सेक्युरिटी इनिसियटिभ्स (जिएसआई) सहमतिबारे संसदमा प्रश्न उठेको छ । आजको प्रतिनिधिसभा बैठकमा सांसदहरुले यसबारे प्रधानमन्त्रीसँग जवाद मागेका छन् ।
चीनले विश्वका देशलाई आफ्नो सैन्य गठबन्धनमा सामेल गराउने रणनीतिक उद्धेश्यका साथ जिएसआइ अघि सारेको दावी गर्दै एकथरीले त्यसमा नेपाल सहभागी हुन नहुने जिकिर गरिरहेका बेला यो विषय सदनमा प्रवेश गरेको हो । पूर्वपन्चहरूको पार्टी राप्रपाका महामन्त्री धवल शमशेर जबराले यसबारे प्रधानमन्त्री ओलीले नै स्पष्ट पार्नुपर्ने बताए ।
जिएसआई नेपालको परराष्ट्र नीतिविपरित रहेको उल्लेख गर्दै उनले कुनै हालतमा नेपाल त्यसको साझेदार बन्न नहुनेमा जोडसमेत दिएका छन् ।
‘ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआई)मा सहभागी भएको कुराहरु आएको छ । यदि यस्तो भएको छ भने नेपालको नीतिभन्दा फरक हो’ , राणाले भने, ‘यदि हामी यो नीतिअनुसार अघि बढ्यौं भने यसले भोलिको दिनमा नेपालको सुरक्षाको लागि पनि गम्भीर हो । यसबारेमा प्रधानमन्त्रीज्यूले सदनमा स्पष्ट रुपमा जानकारी दिनुपर्छ ।’
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले पनि नेपालले जीआईएसमा सर्मथन गरेको चिनियाँ पक्षले प्रचार गरिरहेको भन्दै त्यसबारे स्पष्ट पार्न आग्रह गरेका छन् ।
‘चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपाल सहभागी भएको कुरा आएको छ, चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटपछि चिनियाँ पक्षले जारी गरेको वक्तव्यमा चीनको सुरक्षा रणनीति (जीएसआई)मा नेपाल समर्थन गर्छ भनेर उल्लेख गरिएको छ,’ पाण्डेले भने, ‘प्रधानमन्त्रीको भ्रमण दलका सदस्य र नेताहरुले यसमा नेपालको समर्थन छैन भन्दै आएको देखिन्छ । सत्य कुरा चाहिँ के हो यो प्रष्ट हुनु जरुरी छ ।’
प्रधानमन्त्री ओली चीनले आयोजना गरेको सैन्य परेडमा सहभागी भएकामा पनि पाण्डेले प्रश्न उठाएका छन् । जापानलाई दोस्रो विश्वयुद्धमा पराजित गरेको अवसरमा आयोजित परेडमा सहभागिता जनाउनु नेपालको असंलग्न परराष्ट्र नीति विपरित भएको उनले दावी गरे ।
पाण्डेले थपे, ‘यसबारेमा प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सत्य के हो जानकारी गराउन अनुरोध गर्न चाहान्छु ।’
सांघाइ सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यही भदौ १४ गते प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तामा जिएसआईमा नेपालले सहमति जनाएको समाचार सार्वजनिक भएका थिए । भेटवार्ता पछि चीनले जारी गरेको वक्तव्यमा पनि उक्त कुरा उल्लेख गरिएको छ ।
तर, सरकाको तर्फबाट भने जिएसआईमा कुनै किसिमको सहमति नभएको प्रतिक्रिया आइरहेको छ ।
टिप्पणीहरू