लुम्बिनीपछि भारतीय प्रधानन्यायाधीश बूढानीलकण्ठ मन्दिरमा

लुम्बिनीपछि भारतीय प्रधानन्यायाधीश बूढानीलकण्ठ मन्दिरमा

भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई केही बेरअघि काठमाडौंको बूढानीलकण्ठ मन्दिर पुग्नुभएको छ । साँझको आरतीको समयमा बूढानीलकण्ठ भगवानको दर्शनका लागि उहाँ आठ सदस्यीय टोलीका साथ नारायणस्थान पुग्नुभएको बताइन्छ ।

उहाँ आज बिहान लुम्बिनी गएर अपरान्ह काठमाडौं फर्कनुभएको हो । भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गरेपछि उहाँले विशेष आध्यात्मिक अवसर प्राप्त भएको प्रतिक्रिया दिनुभएको थियो ।

काठमाडौंबाट भैरहवा हुँदै लुम्बिनी पुग्नुभएका उहाँले मायादेवी मन्दिर परिसरमा शुत्रपाठ गर्नुभएको थियो । विश्व शान्ति, मानव कल्याण, नेपालको प्रगति र नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध प्रगाढको कामना गर्दै दियो प्रज्वलन गर्नुभएको थियो ।

उहाँ हिजो राजधानीमा आयोजित ‘नेपाल–इण्डिया जुडिसियल डाइलग’ कार्यक्रममा सहभागी हुन अस्ति अपरान्ह नयाँ दिल्लीबाट आउनुभएको हो । हिजो बिहान पशुपतिनाथ, त्यसपछि बौद्धनाथ र साँझ स्वयम्भूनाथको दर्शन गर्नुभएको थियो । उहाँको भोलि स्वदेश फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू