गोदावरीमा पुतलीको कथा

गोदावरीमा पुतलीको कथा

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका बुद्धिजीवीहरुलाई ‘पुतली’को संज्ञा दिनुभएको छ । ललितपुरको गोदावरीमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनको समापन समारोहमा आज पुतलीको कथा सुनाउँदै उहाँले नेपालका बुद्धिजीवीहरु निदाएको बताउनुभएको हो ।

सरकारले सूचीकरण नभएका समाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि विभिन्न बुद्धिजीवी र वौद्धिक वर्गले यसलाई ‘अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला’ भनिरहेको पृष्ठभूमिमा ओलीको उक्त अभिव्यक्ति आएको हो । बुद्धिजीवीहरुले सरकारले गरेको राम्रो काम नदेखेको र गलत कामको मात्रै समीक्षा गरिरहेकोमा उहाँको चित्त दुखाई छ ।

‘एउटा पुतली थियो, रस खाएर निदायो । सपनामा मान्छे भएर डाक्टर, इञ्जिनियर, नेता के के भएको सपना देखेछ, अनि अब मन्त्री बन्छु भन्दा निद्रा ब्युँझियो, उ पुतली नै थियो’, ओलीले सुनाउनुभयो, ‘अहिलेका बुद्धिजीवीहरु त्यही पुतलीजस्तो हुँदै गए, सरकारले गरेको राम्रो काम देख्दैनन्, के के नराम्रो गरेको छ, त्यसैको पछाडि लागेर खोज्दै हिँडेका छन् ।’

प्रधानमन्त्री ओलीले समाजिक सञ्जाल बन्द गनुपर्ने कुनै रहर नभई बाध्यता रहेको पनि स्पष्ट पार्नुभयो । मुलुकको स्वाभिमानमा आँच ल्याउने प्रयास भएपछि सामाजिक सञ्जाल बन्द गर्ने निर्णय भएको उहाँको भनाई छ । ‘मुलुकको स्वाधीनता र राष्ट्रियताका लागि सरकारले नेपालमा सामाजिक सञ्जाल दर्ता हुन भनेर एक वर्षदेखि भनिरहेको छ, कानुनको दायरामा आउन भन्दा नआएछि सञ्चालनमा रोक लगाइएको हो’, उहाँले अघि भन्नुभयो, ‘व्यक्तिलाई हेपेको भए अर्कै कुरा हुन्थ्यो, म सहन्थेँ, तर देशलाई हेपेको सहन्न सकिन्न, देशलाई होच्याएर स्वाभिमानमाथि ठेस पुर्याउन पाइँदैन ।’

ओलीले सामाजिक सञ्जालको निष्क्रियतासँगै जेन जी पुस्ताले आह्वान गरेको स्वतन्त्र आन्दोलनलाई  समेत लक्षित गर्दै युवाहरु कानुनबारे राम्रो जानकार रहेको विश्वास पनि व्यक्त गर्नुभयो । ‘जेन जी पुस्ता यो देशका भविष्य हुन्, कतिपयले उनीहरुलाई विद्रोह गराउने कुरा पनि गर्छन्, तर जेन्जी पुस्तालाई देशको कानुनबारे राम्रो जानकारी छ भन्ने म ठान्दछु, जेन्जी पुस्ता हेपाह प्रवृतिको विरोधी पनि हो’, उहाँले थप्नुभयो ।

टिप्पणीहरू