चीनको छाता
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपतिसँग के कुरा गर्नुभएछ कुन्नि, सब गडबड भइरहेको छ । चीनसँग कालापानीको कुरा गर्छु भन्नुभएको थियो तर कुरा आकाशे पानीको गर्नुभएजस्तो छ । किनभने आकाशे पानीको प्रसंग निकाल्दा छाताको कुरा गर्नुपर्ने हुन्छ । उहाँले छाताको कुरा झिक्दा चीनले ‘सुरक्षा छाता’ भन्ने बुझेछ । त्यसैले वक्तव्य आएको छ— नेपालले चीनको सुरक्षा छातालाई समर्थन गर्यो ।
चीनको वक्तव्य आएपछि नेपाल पूरै चकित पर्ने नै भयो । के भन्न गा’को । के पो भनिएछ । भन्न त नेपालले त्यस्तो भनेकै छैन भन्ने कुरा पनि आयो तर केपी ओलीको के विश्वास ! भनी पो हाल्नुभो कि !
वास्तवमा यो कालापानीको कुरा चीनलाई भन्ने जुन कार्य ओलीले गर्नुभयो नि, त्यो नै बेकार हो । किनभने भारतले आफूलाई दुःख दियो भनेर उजुर हाल्ने ठाउँ चीन होइन । उजुरी गर्ने त अमेरिकामा हो । अस्ति देखिहालियो, रुससँग ब्यापार बढायो भनेर अमेरिकाले भारतमाथि ट्यारिफ बढाइदियो । अब भारतले चीनसँग पनि कालापानी भएर व्यापार बढाउँदैछ है भनेर अमेरिकामा उजुरी हालेको भए डोनाल्ड ट्रम्पले भारतमाथि फेरि ट्यारिफ बढाइदिन्थे । अनि देख्थ्यो भारतले । तर के गर्ने ! नेपालले उजुरी नै गलत ठाउँमा जो गरेको छ ।
(जनआस्था साप्ताहिकको भदौ १८ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू