राजनीतिमा ‘घुमिफिरी रुम्जाटार’
मुलुकमा अप्रत्यासित सत्ता पलट भएको एक साता बित्दै छ । गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर एकाएक गायब भएपछि शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आवश्यकताको सिद्धान्त र राष्ट्रपतिको विशेषाधिकार प्रयोग गर्दै सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियोे ।
हिजो बिहान पदबहाली गरेपछि प्रधानमन्त्रीले राति तीन जना मन्त्री नियुक्तिको सिफारिस शीतल निवासमा पठाउनुभएको छ । २५ वर्ष उमेर मुनिका पुस्ताको बाहुल्यता वा आफूले भनेको मान्छे मन्त्री हुनुपर्ने माग राख्दै हामी नेपाल समूहले बालुवाटारको सडकमा नाराबाजी र मूर्दावादको नारा घन्काइसकेको छ ।
"समानुपातिक यथावत,प्रदेश संरचना यथावत,निर्वाचन मोडल पुरानै,राजनीतिक दलहरुको प्रभाव उस्तै भएको अवस्थामा केही मुलीबाहेक व्यक्तिहरु उस्तै रुपका आउने संकेत देखिएको छ । घुमिफिरी आगामी दिनमा पनि गठबन्धन सरकार नै बन्नेछ ।’
संविधान र निर्वाचन प्रणाली यथावत भएको अवस्थामा आगामी निर्वाचनमा पनि केही व्यक्तिबाहेक प्रवृत्ति पुरानै दोहोरिने निश्चित रहेको विश्लेषण गर्न थालिएको छ । विश्लेषकहरु भन्छन्, ‘समानुपातिक यथावत, प्रदेश संरचना यथावत,निर्वाचन मोडल पुरानै,राजनीतिक दलहरुको प्रभाव उस्तै भएको अवस्थामा केही मुलीबाहेक व्यक्तिहरु उस्तै रुपका आउने संकेत देखिएको छ । घुमिफिरी आगामी दिनमा पनि गठबन्धन सरकार बन्नेछ ।’
अर्काथरीले राजनीतिक दलका नेताले नाती पुस्तालाई नेतृत्व हस्तान्तरण गरे अझै पनि सम्भावना देखेका छन् । तर ठूला दलका ठूला नेताहरु सर्लक्क मैदान खाली गर्न तयार छैनन् । एक सातादेखि सेना र सुरक्षाकर्मीको घेराभित्र रहेर ज्यान जोगाए पनि तिनको चेत अझै नखुलेको कतिपयको विश्लेषण छ । नेतृत्वले छाती चौडा नपारेसम्म मुलुकको अवस्था नसुध्रने उनीहरुको ठहर छ ।
यता जेन जीका आडमा भएको परिवर्तनपछि नियुक्त प्रधानमन्त्रीदेखि मन्त्रीहरुको उमेरलगायत पक्षले पनि पुरानै झल्को दिएको छ । अर्थमन्त्रीमा रामेश्वर खनाललाई ल्याइएको छ,व्यक्ति इमान्दार हुन् । नेपालको आर्थिक हैसियत, क्रेडिट रेटिङलगायत पक्ष कमजोर हुँदै गएको अवस्थामा विश्व बैंक,अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक आदिले कसरी सहयोग दिने हुन्,खनालको कन्भिन्सिङ्ग क्षमतामा भर पर्छ ।
गृह र कानुनमा ल्याइएका ओमप्रकाश अर्याल र ऊर्जा तथा भौतिक योजना मन्त्री बनाइएका कुलमान घिसिङबाट धेरै आशा गरिएको छ । तर, हाम्रो स्रोत साधन सीमित रहेको अवस्थामा व्यक्तिले मात्रै केही गर्नसक्ने अवस्था छैन । गत साताको हिंसात्मक आन्दोलनबाट सबैभन्दा बढी संरचनागत क्षति नेपाल प्रहरीले व्यहोरेको छ । नयाँ मन्त्री अर्यालले ती संरचना ठड्याउँदै प्रहरीको मनोबल उँचो नबनाएसम्म समाजमा अशान्ति व्याप्त रहिरहने छ । रवि लामिछानेका कारण देशभरका जेलबाट भागेका १३ हजार कैदी, अपराधी समाजमा मिसिइसकेका छन् भने लुटिएका सयौं थान हतियार तिनका हातमा पुगेको अवस्थामा आगामी दिन कस्तो होला ?
टिप्पणीहरू