अर्गानिक खेतीबाट आत्मनिर्भर स्थानीय कृषक
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ लाटिकोईली तिलपुरका कृषकहरू अर्गानिक तरकारी उत्पादनमा सक्रिय भएका छन् । साना किसान कृषक समूह २०७३/०७४ देखि अर्गानिक कृषि कार्यमा संलग्न छ । समूहका २१ सदस्यले ७ बिगाहा जग्गामा तरकारी र खाद्यान्न खेती गरेर अर्गानिक उत्पादन गर्दै आएका छन् ।
पिजिएस सर्टिफाईड समूहको रूपमा सक्रिय यो समूहले रसायनिक मल प्रयोग नगरी, सुधारिएको माटो र जैविक मलबाट तरकारी उत्पादन गर्दै आएको जानकारी दिइएको छ । तिलपुरमा उत्पादित अर्गानिक तरकारी प्रदेशमा लोकप्रिय हुन थालेको छ । उत्पादन धेरै हुँदा यदाकदा खपतको अभाव र मूल्य व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । स्थानीय कृषक अगुवा राम कुमारी चौधरी एक सिजनमै तीन लाखभन्दा बढी आम्दानी गर्छिन्। वार्षिक आम्दानी कम्तिमा सवा लाखदेखि १४ लाख रुपैयाँसम्म हुने बताइएको छ ।
उक्त कार्यमा शुरुका दिनदेखिनै कोपिला भ्याली सेवा समाजले समूहलाई सहयोग गर्दै आएको छ। यसले उत्पादनको नियमित खरिद, सिंचाइ मोटर, कम्पोष्ट मल, बीउ बिजनलगायतमा सहयोग पुर्याउँदै आएको छ। संस्थाले ‘लस र ड्यामेज फण्ड’का लागि समूहलाई एक लाख रुपैयाँ सहयोग गरेको जानकारी दिइएको छ । समूहका कृषक दिपेन्द्र कार्कीका अनुसार, कोपिला बाहेक अन्य संस्थाबाट कुनै सहयोग लिइएको छैन ।
स्थानीय स्तरमा स्थापित संकलन केन्द्रमा सबै कृषकहरूले तरकारी पुर्याउँछन्। कोपिला भ्याली सेवा समाजले आफ्नै कार्यालयमै हरेक शुक्रबार फार्मर्स मार्केट आयोजना गरेर कृषकहरूको उत्पादन बिक्रीमा ल्याउने व्यवस्था गरेको छ। सोही गाउँमा सञ्चालित १० होमस्टेमा पनि संस्थाले प्रचार–प्रसारमा सहयोग गरिरहेको छ।
कृषकहरूले उत्पादन बढी हुँदा बजार व्यवस्थापन, मल, रोग र किराको समस्या भोग्नु परेको बताए पनि, समूह र संस्थाको नियमित समर्थनले तिलपुरको अर्गानिक तरकारीको विश्वासनीयता क्षेत्रभर कायम रहिरहेको छ ।
टिप्पणीहरू