प्रचण्डको निवास देखेर जनयुद्द पीडितहरु आक्रोशित
भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेन–जीले भदौ २३ र २४ गते गरेको विध्वंशले केही नेताहरुको अनुहार बाहिर आएको छ । उनीहरु देशका लागि नेता बनेका थिए कि आफ्नो लागि ? छर्लङ्ग भएको छ । पाँचचोटि मुलुकको प्रधानमन्त्री भइसकेका नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित घरमा तोडफोडसहित आगजनी भयो ।
देउवाको घरमा ढुकुटी नै भेटिएको छ । घरसँगै करोडौं रुपैयाँ जलेको छ । यता, निवर्तमान ऊर्जा,सिँचाई तथा जलस्रोतमन्त्री दिपक खड्काको घरबाट पैसा नै उडेको थियो । जेन–जीको विध्वंश नियन्त्रणभन्दा बाहिर गएपछि राजीनामा दिएका प्रधानमन्त्री केपी शर्मा ओलीको तीन वटै घर खरानी बनेको छ ।
तर, सर्वसाधारणलाई सबैभन्दा बढी दुःख सर्वहारा वर्गका नेता भनिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास देखेर भएको छ । सामन्ती शासकको विरुद्ध र सर्वहारा वर्गका निम्ति २०५२ फागुन १ गतेदेखि जनयुद्द थालियो । १० वर्ष चलेको जनयुद्दको कमाण्डर प्रचण्ड नै थिए ।
सो अवधिमा १७ हजार जनताको ज्यान गयो भने हजारौं अंगभंग भए । देशमा राजतन्त्रको अन्त्य भएर लोकतन्त्र गणतन्त्र आएकै डेढ दशक बितिसकेको छ । विडम्बना,माओवादी नेताहरु आफ्ना एजेण्डा बिर्सिएर विलासी जीवन जिउनतर्फ केन्द्रित भए । जनयुद्दमा बितेका, अंगभंग,बेपत्ता भएकाको परिवारलाई छाक टार्न धौ–धौ परिरहेको अवस्थामा अधिकांश माओवादी नेताको राजधानीमा महलजस्ता घर छन् ।
सन्तान विदेशमा पढिरहेका छन् । जसका कारण नेताहरुको विरोध हुन थालेको छ । जनयुद्दमा आफ्नो बुबा,दाजु र दिदी गुमाएकी मञ्जु सापकोटाले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै प्रचण्डको निवासले आफूलाई हल्लाएको बताएकी छन् । आँगनमै सुविधासम्पन्न स्वीमिङ्ग पुल, घरमै जिमलगायतले माओवादी नेताको विलासितामै ध्याउन्न भएको प्रष्ट पारेको उनको भनाइ छ । उनले हजारौं जनताको बलिदान नेताहरुको व्यक्तिगत जीवनशैली परिवर्तनका लागि थियो ? भन्दै प्रचण्डलाई प्रश्न सोधेकी छन् ।
‘हालै सामाजिक सञ्जालमा फैलिएको माओवादी अध्यक्ष प्रचण्डको जलेको घरको भिडियोले मलाई भित्रदेखि हल्लायो । आँगनमै सुविधासम्पन्न स्विमिङ पुल, घरमै जिम,बाँकी त खरानी के के थियो थियो,सब खरानी,यो तस्विरले देखाउँछ,हाम्रा नेता कति विलासी भइसकेका छन्’, उनले लेखेकी छन्,‘हाम्रो परिवार,जस्तै जसले जनयुद्धमा हजारौंले ज्यान गुमायो, हजारौंले अंगभंग हुनुपर्यो, हजारौं बेपत्ता छन्, त्यो बलिदान के यिनैको ऐश्वर्यका लागि थियो ? हाम्राजस्ता हजारौंको बलिदानी के नेताहरुको व्यक्तिगत जीवनशैली परिवर्तनका लागि थियो ?’
जनतालाई परिवर्तनको मीठो आश्वासन बाँडेर नेताहरु व्यक्तिगत सुःखसयलमा केन्द्रित हुनु गम्भीर अपराध भएको उनको ठहर छ । उनले बाँकी माओवादी नेताहरुको घरमा पनि आगो लगाएर खरानी परीक्षण गर्नुपर्ने बताएकी छिन् । अगाडि लेखेकी छिन्,‘हामीलाई परिवर्तनको मिठो आश्वासन दिइयो, तर परिवर्तनको फल जनतालाई होइन, नेताहरुको निजी सुःखमा सीमित भयो यो गम्भीर बेइमानी मात्र नभई मानव अपराध हो । अब हामी शहिद परिवार, घाइते, अपाङ्ग र बेपत्ता परिवारले बाँकी भएका माओवादी नेताहरुको घरमा आगो लगाएर खरानी परीक्षण गर्नुपर्ने बेला भयो ।’
अहिले केही माओवादी नेताको घरमा मात्रै आगो लगाइएको उल्लेख गर्दै उनले नेताहरु नसुध्रिए बाँकीको घरमा पनि आगो लगाउने चेतावनी दिएकी छिन् ।
टिप्पणीहरू