अनुहार छोपेर कम्ब्याटसहित जेन जीको भीडमा देखिएका को थिए ?

अनुहार छोपेर कम्ब्याटसहित जेन जीको भीडमा देखिएका को थिए ?

जेन जी समूहको प्रदर्शनका क्रममा भदौ २३ गते ब्ल्याक कम्ब्याट र वाकीटाकीसहित नयाँ बानेश्वरको भीडमा देखिएका एक युवक अहिले चर्चामा छन् । विध्वंसकारी घटनाबारे अनेकौं टिकाटिप्पणी भइरहेका बेला ती नकाबधारी युवकको पहिरन र प्रस्तुतीले सर्वसाधारणमा थप शंका उत्पन्न गराएको छ । उनी को हुन् ? कसले परिचालन गर्यो ? भन्ने बहस अहिले सामाजिक सञ्जालमा तीव्र छ ।

यसैबीच, प्रदर्शनको प्रमुख स्टेकहोल्डर दाबी गर्दै आएको हामी नेपालका संस्थापक सुदन गुरुङले ती युवक आफ्ना स्वयमसेवक भएको बताएका छन् । उनले विभिन्न मिडियामा दिएको अन्तर्वार्तामा ती युवकको नाम जेशिन महर्जन भएको दाबी गरिएको छ । गुरुङका अनुसार, महर्जनले आफ्नै ‘सौख’ को लागि मात्र कमब्याट लगाएका हुन् भने वाकीटाकी भीडभाडमा सञ्चार प्रवाह गर्न प्रयोग गरेका हुन् ।

तर प्रश्न उठ्छ– के जो–कोहीले सुरक्षाकर्मीलाई समेत भ्रामक बनाउनेगरी त्यस्तो कमब्याट र वाकीटाकी प्रयोग गर्न पाउँछ ? एक उच्च प्रहरी अधिकारी भन्छन्, ‘पाइँदैन, सुरक्षा सेवामा आबद्ध नभएका कसैले पनि त्यस्तो कमब्याट लगाउनु गैरकानुनी हो ।’

प्रहरीका अनुसार, कतिपय निजी सुरक्षा कम्पनीलाई कमब्याट प्रयोग गर्न दिइएको हुन्छ । तर त्यसका लागि पनि स्पष्ट मापदण्ड बनाइएका छन् । ‘पहिलो कुरा त प्रहरी वा सेनाको पोशाकसँग मिल्दोजुल्दो बनाउनै पाइँदैन । दोस्रो कुरा, फरक रंगमा भए पनि सेवाबाहिरका व्यक्तिले उस्तै डिजाइनको बनाएर लगाउन पाइँदैन,’ ती अधिकारीले भने, ‘प्राइभेट सेक्युरिटी कम्पनीलाई चाहिँ छुट्टै डिजाइनमा मात्र अनुमति दिइएको हुन्छ ।’

यदि कसैले प्रहरी वा सेनाको नक्कल गरेर त्यस्तो पोशाक लगायो भने त्यो गैरकानुनी ठहरिने प्रहरीको भनाइ छ । त्यस्तै, वाकीटाकी प्रयोग गर्न नजिकैको प्रहरी इकाईलाई जानकारी गराएर अनुमति लिनुपर्ने प्रावधान छ । ‘फ्रिक्वेन्सी प्रयोग गर्न पनि प्रहरी चौकीसँग अनुमति लिनुपर्छ,’ अधिकारीले स्पष्ट पारे ।

जेनजी प्रदर्शनमा कमब्याट लगाएर देखिएका ती युवकलाई लिएर उठेका आशंका भने अझै मेटिएका छैनन् । कसैले उनलाई अन्तर्राष्ट्रिय गिरोहसँग जोडिरहेका छन्, त कसैले अमेरिकी एजेण्ट भन्दै आरोप लगाइरहेका छन् । यद्यपि, गुरुङले महर्जन ‘हामी नेपाल’ कै सदस्य भएको दाबी गरे पनि उनले किन र कसरी उक्त कमब्याट प्रयोग गरे ? कहाँबाट ल्याए ? कसले अनुमति दियो ? उद्देश्य के हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू