सीमा क्षेत्रको चोरी–तस्करीका सूचना दिन आग्रह
सशस्त्र प्रहरी बल,नेपालले सीमा क्षेत्रबाट चोरी–तस्करी भएको पाइएमा जानकारी गराउन आग्रह गरेको छ । भदौ २३ र २४ गतेको जेनजी विध्वंशका कारण सिर्जित जटिल परिस्थिति र चाडपर्वको अनुचित फाइदा उठाउँदै तस्करहरुले चोरी–तस्करीलगायत आपराधिक क्रियाकलाप गर्नसक्ने उल्लेख गर्दै सशस्त्र मुख्यालयले त्यस्तो गतिविधि भएको देखिए–भेटिएमा खबर गर्न भनेको हो ।
मुख्यालयले एक सूचना जारी गर्दै सशस्त्र प्रहरी कर्मचारीहरुसमेत त्यस कार्यमा संलग्न भएको हुनसक्ने बताएको छ । त्यस्तो क्रियाकलाप भएको भेटिएमा हटलाइन नम्बर ९८५१२६१२०० मा एसएमएस, ह्वाट्सएप वा भाइबरमार्फत सम्पर्क गर्न सूचित गराइएको छ ।
‘आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहहरुले खुल्ला सीमा ईलाकाबाट चोरी–तस्करीलगायत सीमा अपराध गराउन सक्ने हुँदा यस्तो क्रियाकलापहरु कहीँकतै भएको पाइएमा–देखिएमा वा सशस्त्र प्रहरी बल, नेपालका कर्मचारीहरुसमेत यस्तो अवाञ्छित क्रियाकलापमा संलग्न भएको पाइएमा सशस्त्र प्रहरी बल, नेपालको हटलाइन नम्बर ९८५१२६१२०० मा एसएमएस, ह्वाट्सएप वा भाइबरमा म्यासेज–फोन वा टोल फ्रि नम्बर १११४ मा जानकारी गराई सहयोग गरिदिनहुन...’,सूचनामा उल्लेख छ ।
नेपाल–भारतबीच रहेको खुल्ला सीमानाको सुरक्षामा खटिएका सशस्त्र प्रहरीकै मिलीभगतमा चोरी–तस्करी हुने गरेको व्यापक गुनासो आउने गरेको छ । झन् चाडपर्वको बेला सीमा क्षेत्रबाट अझै बढी चोरी–तस्करी हुने गर्दछ ।

टिप्पणीहरू