उता बस्ने,यता उक्साउने
विदेशमा बस्ने,सामाजिक सञ्जालबाट हान्न मार्न यता उक्साउने ! सन्दर्भ हो, विदेशमा भएपछि कानुनले पनि छुँदैन भनेर सोच्ने जमातको । भदौ २३ र २४ गते जेन–जी विध्वंशको केही समयअघिदेखि शुरु भएको विदेशमा बसेर नेपाली उक्साउने कार्य जारी छ । विदेशमा रहेर जन्मभूमिलाई खरानी बनाउन भूमिका खेल्ने उनीहरुले सामाजिक सञ्जालमार्फत जथाभावी लेखिरहेकै छन् ।
पोल्याण्डमा बस्दै आएका विवेक पौड्यालले सामाजिक सञ्जालमा स्ट्याट्स लेख्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नछोड्न आह्वान गरेका छन् । उनले लेखेका छन्,‘केपी बुडो र प्रचण्ड छुटे,लौ न नछोडौं ।’ चितवनको भरतपुर स्थायी ठेगाना भएका उनी पोल्याण्डको राजधानी वार्सामा बस्छन् । फेसबुक वालमा उनले आफू सामाजिक अभियन्ता,उद्यमी र डिजिटल क्रियटर भएको उल्लेख गरेका छन् ।
समाजलाई सही दिशा देखाउने सामाजिक अभियन्ताले लेख्ने शब्द त्यस्तै हुन्छ ? प्रश्न उठेको छ । यता, अमेरिकामा रहेकी मनिषा पराजुलीले नेताहरुलाई भेट्नेबित्तिकै मार्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत नेपालीलाई उक्साइरहेकी छिन् । उनले दुई लाशबराबर एक नेता वा तिनको लाश पाएपछि मात्र हिसाब बराबर हुनेलगायतका दर्जनौं स्ट्याट्स लेखेकी छन् ।
उनको पोष्टमा लेखिएको छ,‘शहिद घोषणा गरेर क्षतिपूर्तिबापतको पैसा लिएर दिएर हैन ! दुई लाश बराबर एक नेताको वा तिनीहरुको छोराछोरीको लाश,अनि हिसाबकिताब बराबर हुन्छ ! खूनको बदला खून !’ आफूलाई टिक टकर बताउने निगा बिसुन्खे उर्फ ‘सियोन’ ले युरोपबाट उक्साहटपूर्ण अभिव्यक्ति दिएकी छन् ।
उनले ‘आजचाँहि नेतालाई मारेको न्युज हेर्न पाऊँ’ लगायतका स्ट्याट्स लेखेपछि बर्लिनस्थित नेपाली राजदूतावासमार्फत पोल्याण्ड सरकारसमक्ष उजुरी नै परेको छ । यी त केही उदाहरण मात्र हुन् । विदेश बसेर नेपालीलाई उक्साउने दर्जनौंको संख्यामा छन् । तीमध्ये केही प्रहरीको नजरमा परेका छन् । साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थीले उनीहरुमाथि उजुरी परेमा कारबाही हुने बताए ।
ज्यान मार्ने थ्रेटसहित सामाजिक सञ्जालमा लेखिएमा प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने उनको भनाइ छ । जनआस्थासँग उनले भने,‘सबै साइबर ब्यूरोले मात्र हेर्दैन । ज्यान मार्ने धम्कीहरु जिल्ला प्रशासन र प्रहरी कार्यालयले हेर्ने हो । सम्बन्धित पक्षले निवेदन दिएमा कारबाही हुन्छ ।’
उनका अनुसार सामाजिक सञ्जालमा जथाभावी लेख्ने क्रम पछिल्लो समय व्यापक बढेको छ । तर,ठोस ऐनकानुन नहुँदा उनीहरुलाई कारबाहीको दायरामा ल्याउन असहज भएको प्रवक्ता अवस्थीको गुनासो छ ।
टिप्पणीहरू