शाखा अधिकृत घिमिरेले सम्हाले नयाँ कर्मचारी समूहको नेतृत्व

शाखा अधिकृत घिमिरेले सम्हाले नयाँ कर्मचारी समूहको नेतृत्व

भदौ २३ को प्रदर्शन र २४ गतेको ध्वंशपछि उत्पन्न परिस्थितिमा राजनीतिक क्षेत्रमा झैँ प्रशासनिक क्षेत्रमा पनि आमूल परिवर्तन गर्नुपर्ने आवाज उठाउँदै आजदेखि नयाँ कर्मचारी समूह गठन गरिएको छ । सार्वजनिक प्रशासन रुपान्तरण अभियान २०८२ नाम दिइएको उक्त समूह शाखा अधिकृत गणेश घिमिरेको संयोजकत्वमा १५ सदस्यसहित गठन गरिएको छ । 

सिंहदरबारमा घोषणा गरिएको कार्यसमितिमा १३ जनाको नाम सार्वजनिक गरिएको छ । निजामती,सार्वजनिक प्रशासनमा आमूल परिवर्तन गर्ने उद्घोषका साथ गठित कमिटीको सहसंयोजकमा अबिलाल राई र अच्युत तिमिल्सिना छन् ।

सदस्यहरुमा संसद सचिवालयका सदन राई, पशुपति पोखरेल,अर्थ मन्त्रालयका ललित लामिछाने, लेखा समूहका भाष्कर ढुंगेल, पर्यटनका छायाँलाल मोक्तान, स्थानीय तहबाट नर्मदा घिमिरे छन् । त्यस्तै विद्युत प्राधिकरणबाट कैलाश श्रेष्ठ, प्राविधिक सतिश सुवेदी, परराष्ट्रका नन्दन घिसिंग र कानुनबाट प्रकाश चापागाईंलाई कार्यसमिति सदस्य बनाइएको छ।

उनीहरुले सरकारले आफ्ना माग नसुने तत्काल मुलुकभरको कार्यालय ठप्प बनाउँदै वार कि पारको लडाइँ लड्ने बताएका छन् । नयाँ कर्मचारी समूहले भदौ २३ गते तत्कालीन गृहमन्त्रीले र २४ गते तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिएपछि सिंहदरबारलगायत अधिकांश भवनमा आगजनी र तोडफोड भएकोले सो को जिम्मा प्रशासन सम्हालेर बसेकाले लिनुपर्ने माग दोहोर्याउँदै आएको छ ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइलाई सैनिक मुख्यालय पुर्याउने भूमिकामासमेत उनै शाखा अधिकृत गणेश घिमिरे सक्रिय थिए । उनी २०७२ सालको व्याच ३१ का अधिकृत हुन् । पाँच बर्ष कानुन मन्त्रालयको सुब्बा तहमा काम गरेर अधिकृत भएका थिए ।अहिले प्राकृतिक स्रोत तथा वित्त आयोगको नीति योजना तथा विश्लेषण शाखाको जिम्मेवारीमा छन् । यद्यपि निजामती किताबखानाको विवरण अनुसार उनको दरबन्दी सामान्य प्रशासनको अतिरिक्त समूहमा देखिन्छ ०८२ वैशाख २५ देखि । ओखलढुङ्गाको रगनी ७ का स्थायीबासी उनी श्रम मन्त्रालय मातहत रहँदा भक्तपुरबाट  ललितपुर सरेका थिए । पाँच बर्ष प्रधानमन्त्री कार्यालय,मुख्य सचिवको सचिवालयमा बिताएका उनले त्यही हुँदा वर्तमान प्रधानसेनापति अशोक सिग्देल र पूर्व प्रधानसेनापति प्रभुराम शर्मासँग विशेष सम्बन्ध बनाएका हुन् । खुम्बु पासाङ्ग ल्हामु गाउँपालिकामा समेत काम गरिसकेका छन् ।

टिप्पणीहरू