नारायणगढ–मुग्लिन सडक फेरि बन्द, यी छन् वैकल्पिक मार्ग

नारायणगढ–मुग्लिन सडक फेरि बन्द, यी छन् वैकल्पिक मार्ग

नारायणगढ–मुग्लिन सडक खण्डमा पछिल्लो समय निरन्तर ठूल्ठूला पहिरो खसेर आवागमनमा पूर्ण अवरोध भइरहेको छ । शुक्रबार साँझदेखिको पहिरो त्यत्रो दुई–तीन दिन लगाएर बल्लतल्ल पन्छाई गाडी सुचारु गर्न नपाउँदै सोही ठाउँमा हिजो फेरि ठूलो पहिरो खसेको हो ।

यसरी यो सडकमा यसपालि लामै समयदेखि आवतजावत बन्द भइरहेपछि यात्रु निकै समस्यामा छन् । चाडबाडको समय छ, यो बेला आफन्त भेटघाट पनि महत्वपूर्ण मानिन्छ । हिजोबाट पूर्णरुपमा बन्द हुन पुगेको सडक तत्काल खुल्न सक्ने सम्भावना नदेखिएकोले वैकल्पिक मार्ग प्रयोग सूचित गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वैकल्पिक मार्गको रुपमा महोत्तरी जिल्लाको बर्दिवास, मकवानपुर जिल्लाको हेटौंडा, रुपन्देही जिल्लाको बुटवल, नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती र गैंडाकोट, धादिङ जिल्लाको नौबीसे तथा तनहुँ जिल्लाको हकमा खैरेनीटारबाटै उपयुक्त वैकल्पिक मार्ग लिन हुन अनुरोध गरेका छन् । 

‘यात्रा गर्नुपूर्व सडकको अवस्था बुझी यकिन गरेर मात्र यात्रा गर्नुहुन एवम् सडक मार्गमा रहेका यात्रुहरुलाई कुनै समस्या परेमा सडक सुरक्षार्थ खटिइएका ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरुसँग सूचना एवम् सहयोग लिन हुन समेत आग्रह गर्दछौं’ सिडिओ भन्छन्, ‘हाम्रो अनुरोध छ, जोखिम मोलेर यात्रा नगरौं, ज्यान बचाऔं, यात्रा पछि गरौंला । घुमेरै यात्रा गरौं, बाटो खुल्ने आशामा आफंै दुःख हैरानीमा नपरौं’ उनले भने, ‘तत्कालका लागि यो बाध्यात्मक विकल्प हो, सडक खुलाउन हरदम प्रयत्न गरिरहेका छौं ।’

वैकल्पिक प्रयोग गर्न मिल्ने रुट

चितवन– चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कन सानो गाडीमात्र जान मिल्ने । धादिङ– त्रिभुवन राजपथ धादिङको नौबिसेबाट मकवानपुर हेटौंडा । मकवानपुर– हेटौंडाबाट भैंसे, भिमफेदी कुलेखानी, सिस्नेरी दक्षिणकालीको बाटो (हाइस, कार, स्कारपिओ र सुमोसम्मका गाडी ) । 

मकवानपुर– काठमाडौंतर्फ जाने ठूला सवारी साधनको लागिमात्र (कान्ति लोकपथ–हेटौैंडा, ठिंगन हुँदै भट्टेडाँडा, ललितपुरको सातदोबाटो हुँदै उपत्यका भित्रिनेमात्र । चितवन– पोखरा जानको लागि ठूला साना दुवै सवारी साधन बुटवल हुँदै पोखरा जान मिल्ने । चितवन– कालीगण्डकी करिडोरको बाटो हुँदै गैंडाकोटबाट छिरेर पाल्पा रामपुर, भिमाद हुँदै तनहुँ जान मिल्ने । 

जिल्ला प्रहरी कार्यालय चितवनको फेसबुकपेजमा हिजो बेलुकीतिर सूचनामा यी वैकल्पिक मार्गबारे उल्लेख गरिएको छ । त्यसमा पुरन सुवेदीले कमेन्ट थपेका छन्, ‘गैंडाकोट, ढोंडेनी, बुलिङटार, डेडगाउँ, मानपुर, देउराली, भिमाद, खैरहनीटार, मुग्लिन ।’ प्रदीप ओझाले पनि यो मार्ग उल्लेख गरेका छन् । हिम्मत पुरी लेख्छन्, ‘भरतपुर÷टाँडी, जुटपानी, शक्तिखोर, उपरदाङगढी, मायाटार, कोट जोगिमारा, मझिम्टार हो हजुर । चार ह्वील बलेरो र बाइकहरुमात्र ।’ 

के छ यहाँ अझै पहिरोको अवस्था ?

नारायणगढ मुग्लिन सडक खण्डको तुइनखोला पुल नजिकै हिजो दिउँसो पाँच बज्नै लाग्दा गएको ठूलो पहिरोका कारण सडक आवागमन फेरि पूर्णरुपमा बन्द हुन पुगेको हो । पहिरो पन्छाउनको लागि आज दिनभरजसो र भोलि पनि समय लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ । 

आज बिहान ६ बजेदेखि दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोको तस्बिरहरु हेर्दा माथिबाट अब थप ठूलो पहिरोको सम्भावना कम रहेको भएतापनि झर्न बाँकी रहेका ढुंगाहरु पूर्णरुपमा तल नझरिसकेको हुँदा अझै साना तथा मझौला स्तरका ढुंगाहरु झर्न सक्ने सम्भावना रहेको देखिन्छ’ सडक डिभिजनका इन्जिनियरहरु भन्छन्, ‘सडकमा थुप्रिएको पहिरोको परिमाण निकै धेरै १२०००–१४००० घ.मि. रहेको आकलन गरिएको छ ।

टिप्पणीहरू